सुदूरपश्चिम ११० रनमा अलआउट, सागर र दीपेन्द्रले लिए समान ४ विकेट
नेपाल पुलिसका स्पीनरद्वय सागर ढकाल र दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट बलिङ गर्दै ४–४ विकेट लिएपछि प्रधानमन्त्री कप (पीएम कप) पुरुष राष्ट्रिय क्रिकेटमा सुदूरपश्चिम प्रदेश ११० रनमा अलआउट भएको छ ।
कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ३३.१ ओभर खेल्दै सबै विकेट गुमाएर ११० रन मात्र बनाएको थियो ।
सुदूरपश्चिमका लागि ओपनर खडक बोहराले सर्वाधिक ४० रन जानकारी गराए । यस्तै अरुण ऐरीले १३ र अर्जुन साउदले १० रन बनाए । बाँकी खेलाडीले भने दोहोरो अंकमा रन जोड्न सकेनन् । चार खेलाडी खाता नखोली आउट भए ।
ओपनर तथा कप्तान सन्तोष भट्ट खेलको दोस्रो बलमै डायमण्ड डकआउट भएपछि खडक र सन्जुले दोस्रो विकेटका लागि ८० रनको साझेदारी गर्दै इनिङ्स उकासेका थिए ।
तर त्यसपछि पुलिसका सागर र दीपेन्द्रले उत्कृष्ट बलिङ गरेपछि सुदूरले थप ३० रन जोड्दा ९ विकेट गुमायो । सुदूरपश्चिमले अन्तिम ७ विकेट ८ रनमा गुमाएको थियो । सुदूरपश्चिमलाई अलआउट गर्न पुलिसका लागि सागर ढकालले १० ओभरमा ३ मेडन राख्दै १८ रन मात्र खर्चेर ४ विकेट लिए । यस्तै दीपेन्द्रले ६।१ ओभरमा २ मेडन राख्दै १० रन मात्र खर्चेर ४ विकेट लिए ।
सागरले टप अर्डर र दीपेन्द्रले लोअर अर्डरको विकेट लिए । दुई खेलाडी रनआउट भएका थिए । आफ्नो पहिलो खेलमा बागमती प्रदेशसँग पराजित भएका पुलिस र सुदूरपश्चिम आज पहिलो जितको खोजीमा छन् ।
७ माघ २०७७, बुधवार १४:३१ बजे प्रकाशित













