कोभिड–१९ विरुद्धको खोप ल्याउने तयारी, आठ उपसमिति गठन

नेपालमा कोभिड–१९ को विरुद्धको खोप ल्याउने तयारी गरेको छ । सरकारले २० प्रतिशत नागरिकलाई पुग्नेगरी खोप ल्याउने तयारी गरेको हो ।

खोप ल्याउनदेखि लगाउनसम्मको तयारी गर्नका लागि विभिन्न ८ उपसमिति समेत बनाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले विश्वस्वास्थ्य सङ्गठन (डब्लुएचओ), ‘गाभी र सेपी’ नामक तीन सङ्गठनको ‘कोभ्याक्स सुविधा’ नामक सयन्त्रअन्तर्गत सहुलितय दरमा २० प्रतिशत जनसङ्ख्यालाई पुग्ने खोप ल्याउन थालेको बालबालिका तथा खोप सेवा शाखाका प्रमुख डा झलक शर्मा गौतमले जानकारी दिए।

उनले अझै खोप परीक्षणकै क्रममा रहेकाले कुन खोप ल्याउने भन्ने निश्चित भइनसकेको बताए । उनले शुरुमा २० प्रतिशत जनतालाई खोप ल्याएपछि विस्तारै सबैलाई पुग्नेगरी खोप ल्याइने जानकारी दिए। कोभ्याक्सअन्तर्गत आउने खोप नेपाललाई निःशुल्क प्रदान हुनेछ । गरिब तथा कम आय भएका मुलुकलाई कोभ्याक्स सुविधाअन्तर्गत खोप निःशुल्क प्रदान गरिनेछ ।

प्रमुख डा शर्मा गौतमका अनुसार फाइजर एण्ड वायोएनटेक कम्पनी (रसिया), मोडेर्ना (अमेरिका), ग्यामेलिया (रसिया) र अक्सफोर्ड एक्ट्राजेनिका (बेलायत) कम्पनीका खोप अहिले परीक्षणकाक्रममा रहेकाले तिनीहरुमध्ये एउटा कम्पनीको खोप स्वदेशमा ल्याइनेछ । खोप उत्पादन गर्ने मुलुकमा दर्ता भइसकेपछि डब्लुएचओमा दर्ता र त्यसपछि नेपालको औषधि व्यवस्था विभागमा खोप दर्ता हुनेछ ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहको संयोजकत्वमा खोप सचिवालय, तथा मन्त्रालयको प्रमुख विशेषज्ञ डा गुणराज लोहनीको संयोजकत्वमा खोप कोष सचिवालय गठन गरेको छ ।

मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले सरकारले खोप ल्याउने तयारीका साथ काम गरिरहेको जानकारी दिए। उनका अनुसार खोपका लागि आवश्यक रकम, खोप ल्याइसकेपछि भण्डारण, खोप शुरुमा कसकसलाई दिने, खोप कसरी दिने भन्ने स्वास्थ्यकर्मीलाई तालिम जस्ता काम भइरहेको छन् ।

उनले खोप ल्याउनेका लागि विभिन्न कूटनीतिक नियोगसँग पनि छलफल भइरहेको जानकारी दिए। विश्वमा उत्पादन भएका खोप अहिले तेस्रो चरणमा रहेका छन् । ती खोपको अन्तिम परीक्षण हुन बाँकी नै रहेको छ । नेपालमा शुरुमा खोप दीर्घरोगी वृद्धवृद्धा, स्वास्थ्यकर्मी, अग्रपङ्क्तिमा काम गर्ने कर्मचारीलाई उपलब्ध गराइनेछ ।

नेपालमा अहिलेसम्म दुई लाख ३८ हजार ८६१ जनामा कोरोना सङ्क्रमण देखिएको छ । यस्तै दुई लाख २१ हजार ८४७ निको भएका र एक हजार ५६७ को निधन भइसकेको मन्त्रालयले जनाएको छ ।


२० मंसिर २०७७, शनिवार १६:२८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु