हरितालिका तीज: आज दर खाने दिन
काठमाडौँ। नेपाली नारीहरूको महान् पर्व हरितालिका (तीज) को व्रत तथा पूजा आराधनाका लागि आज देशभरका महिलाहरूले ‘दर’ खाने तयारी गरेका छन्। भाद्र शुक्ल द्वितीयाका दिन खाइने दरसँगै चार दिनसम्म चल्ने तीज पर्व औपचारिक रूपमा सुरु भएको छ।
माइतीले चेलीबेटीलाई बोलाएर खुवाउने परम्परा रहेको दरका रूपमा विशेषगरी दूधबाट बनेका शुद्ध तथा आडिलो परिकारहरू खाने गरिन्छ। व्रतका दिन निराहार बस्नुपर्ने भएकाले शरीरलाई शक्ति प्रदान गर्न पौष्टिक खानेकुरा खाने शास्त्रीय विधान रहेको धर्मशास्त्रविद् प्रा तोयराज नेपालले बताएका छन्। विगतमा नेपालमा मात्र सीमित यो पर्व पछिल्लो समय सञ्चारमाध्यमको प्रभावसँगै भारतलगायतका स्थानमा समेत लोकप्रिय बन्दै गएको छ।
तर, पछिल्लो समय तीजका नाममा महिनादिन अघिदेखि नै पार्टी आयोजना गर्ने, तडकभडक देखाउने र गरगहनाको प्रदर्शन गर्ने जस्ता विकृतिहरू बढेकोप्रति समाजशास्त्री तथा धर्मशास्त्रीहरूले चिन्ता व्यक्त गरेका छन्। संस्कृतिविद्हरूले यस्ता उच्छृङ्खल गतिविधिले नहुने वर्गलाई खिन्न बनाउने भएकाले सांस्कृतिक मर्यादा कायम राख्नुपर्नेमा जोड दिएका छन्।
आइतबार बेलुकी दर खाएपछि सुरु हुने यो पर्व मंगलबार गणेश चौथी र ऋषि पञ्चमीको पूजाआराधना गरेसँगै समापन हुनेछ। पौराणिक मान्यता अनुसार सत्ययुगमा हिमालय पुत्री पार्वतीले भगवान् शिवलाई प्राप्त गर्न निराहार व्रत बसेको दिनको सम्झनामा महिलाहरूले हरितालिका तीजको व्रत लिने परम्परा बस आएको हो। पर्वको आगमनसँगै पशुपतिनाथ लगायत देशका विभिन्न शिवालयहरूमा महिलाहरूको उत्साहजनक सहभागिता रहने गर्दछ।
२८ भदौ २०८३, आइतवार ०५:५६ बजे प्रकाशित














