महोत्तरीमा सेफ्टी ट्याङ्कीभित्र युवकको शव फेला, चार जना पक्राउ
महोत्तरी । महोत्तरीको बलवा नगरपालिका ७ बनौटास्थित एक घरको सेफ्टी ट्याङ्कीभित्र युवकको शव टुक्रा–टुक्रा पारिएको अवस्थामा फेला परेको छ। फेला परेको शव भङ्गाहा नगरपालिका ६ बस्ने अशोक कुमार वातरका २२ वर्षीय छोरा विवेक कुमार सरदारको भएको प्रहरीले जनाएको छ।
भदौ १४ गते साँझ जलेश्वर नगरपालिका ९ पिगौनास्थित दिदीको घरबाट मोटरसाइकलमा घरतर्फ फर्कने क्रममा विवेक बेपत्ता भएका थिए। छोरा हराएपछि मृतकका बुबाले भदौ १६ गते जिल्ला प्रहरी कार्यालय महोत्तरीमा हुलियासहित खोजतलासका लागि निवेदन दिएका थिए।
प्रहरीले खोजतलास गर्ने क्रममा बनौटाका अशोक कुमार ठाकुरको घरपछाडि रहेको सेफ्टी ट्याङ्कीभित्र बीभत्स रूपमा काटिएको अवस्थामा शव बरामद गरेको हो। घटनाको अनुसन्धानका लागि प्रहरीले घरधनी ५८ वर्षीय अशोक कुमार ठाकुर, उनकी ५५ वर्षीया श्रीमती रामकली देवी र २२ वर्षीया बुहारी सोनु कुमारी ठाकुरलाई नियन्त्रणमा लिएको छ। महोत्तरी गाउँपालिका ५ बस्ने ३७ वर्षीय सियाराम शर्मालाई पनि पक्राउ गरी प्रहरीले थप छानबिन अघि बढाएको छ।
२७ भदौ २०८३, शनिवार ११:४८ बजे प्रकाशित














