खेलकुदले प्रदेशको पहिचान र प्रतिभा उजागर गर्छ : मुख्यमन्त्री भट्ट

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले खेलकुद क्षेत्रको विकास, खेलाडीको क्षमता अभिवृद्धि तथा नयाँ प्रतिभाको पहिचानमा विशेष जोड दिनुपर्ने बताउनुभएको छ ।
सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को आयोजनामा धनगढी रंगशालामा आयोजित दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रदेशस्तरीय छनोट प्रतियोगिताको उद्घाटन गर्दै मुख्यमन्त्री भट्टले खेलकुदले खेलाडीको व्यक्तिगत क्षमता विकाससँगै प्रदेश र राष्ट्रको पहिचान स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभएको हो ।
उहाँले सुदूरपश्चिम प्रदेशमा खेलकुदको प्रशस्त सम्भावना रहेको उल्लेख गर्दै यहाँका प्रतिभावान् खेलाडीलाई पहिचान गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउन आवश्यक रहेको बताउनुभयो ।

खेलकुदलाई स्वास्थ्य, अनुशासन, आपसी एकता र राष्ट्रको गौरवसँग जोड्दै खेलाडीलाई आवश्यक अवसर, प्रोत्साहन र पूर्वाधार उपलब्ध गराउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशको सुर्खेतमा सञ्चालन हुने दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगितामा सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व गर्ने खेलाडी छनोट गर्ने उद्देश्यले प्रदेशस्तरीय प्रतियोगिता आयोजना गरिएको हो ।
प्रतियोगिताअन्तर्गत कैलाली, कञ्चनपुर र डडेल्धुरा जिल्लामा विभिन्न खेल विधाका छनोट प्रतियोगिता सञ्चालन गरिने सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले जनाएको छ ।

प्रदेशस्तरीय छनोट प्रतियोगिताले सुदूरपश्चिमका खेलाडीलाई राष्ट्रिय प्रतियोगितामा आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ ।


२८ कात्तिक २०८३, शनिवार १३:०२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु