स्थानीय तह र प्रदेशसभा निर्वाचन आगामी फागुनमा एकैपटक गर्ने वा छुट्टाछुट्टै भन्नेमा दलहरूबीच मतभेद

काठमाडौं । २०८४ सालमा स्थानीय तह र प्रदेशसभाको पाँचवर्षे कार्यकाल पूरा हुने भएपछि दुवै तहको निर्वाचनको तयारी सुरु भएको छ। तर, निर्वाचन एकैपटक गर्ने वा छुट्टाछुट्टै मितिमा गर्ने भन्ने विषयमा निर्वाचन आयोग र राजनीतिक दलबीच सहमति जुटिसकेको छैन।

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन आगामी फागुन वा चैतभित्र सम्पन्न गर्ने तयारी अघि बढाएको छ। आयोगका अनुसार स्थानीय सरकार रिक्त हुन नदिन समयमै निर्वाचन आवश्यक छ। एकैपटक चुनाव गराउन कानुनी संशोधन र व्यवस्थापकीय तयारीसमेत आवश्यक पर्नेछ।
सत्तारुढ रास्वपाले आगामी केन्द्रीय समिति बैठकबाट यसबारे निर्णय गर्ने जनाएको छ। कांग्रेसले पनि छलफलपछि धारणा सार्वजनिक गर्ने बताएको छ। एमालेले भने स्थानीय तहको निर्वाचन चैत–वैशाखमा र प्रदेशसभाको निर्वाचन मंसिरमा गर्नुपर्ने धारणा राखेको छ।

संविधान र निर्वाचनसम्बन्धी कानुनी व्यवस्थाअनुसार दुवै तहको निर्वाचन मिति सरकारले निर्वाचन आयोगको परामर्शमा तोक्नेछ। अब सरकार, आयोग र दलबीचको छलफलले निर्वाचनको समयतालिका तय गर्नेछ।


२८ कात्तिक २०८३, शनिवार ११:१० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु