कञ्चनपुरको नागेश्वर सामुदायिक वन, योजना अभावमा ओझेलमा

कञ्चनपुर। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–६ कसरौलस्थित नागेश्वर मध्यवर्ती सामुदायिक वन, जहाँ बिहानको सुरुआत चराचुरुङ्गीको मधुर स्वरबाट हुन्छ । खुला मैदानमा निलगाई र चितल निस्फिक्री चरिरहेका देखिन्छन् । कहिलेकाहीँ मयूरको नृत्यले वातावरण झन् रमाइलो बनाइदिन्छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँगै जोडिएको यो वन क्षेत्र प्रकृतिको अनुपम सौन्दर्यले भरिपूर्ण छ । यति धेरै सम्भावना हुँदाहुँदै पनि स्पष्ट योजना, पूर्वाधार र लगानीको अभावमा यो क्षेत्र ओझेलमा परेको छ ।
करिब ४८ हेक्टर क्षेत्रफलमा फैलिएको यो सामुदायिक वन प्राकृतिक स्रोत, जैविक विविधता र सांस्कृतिक सम्पदाले समृद्ध छ । साल, सिसम, खयर, असनाजस्ता बहुमूल्य वनस्पतिले ढाकिएको यो वन चित्तल, निलगाई, मयूर, वनकुखुरा, बाँदरजस्ता वन्यजन्तुको सुरक्षित बासस्थानका रूपमा रहेको छ । स्थानीयका उपभोक्ताका अनुसार सामुदायिक वनमा कहिलेकाहीँ चितुवा र पाटेबाघ पनि देखापर्ने गर्दछन् । जसले वनको जैविक महत्वलाई अझ उच्च बनाएको छ ।
वनको समथर भूभाग, हरियाली मैदान, नजिकै बग्ने स्याली नदी र सिमसार क्षेत्रले यसलाई प्राकृतिक रूपमा नै पर्यटकीय गन्तव्य बनाएको छ । यहाँको शान्त वातावरण, चिसो हावा र हरियालीले आन्तरिक पर्यटकका लागि उत्कृष्ट विश्रामस्थल बन्न सक्ने सम्भावना बोकेको छ ।
सामुदायिक वनका पूर्वअध्यक्ष जयबहादुर ऐरका अनुसार यो क्षेत्रलाई योजनाबद्ध रूपमा विकास गर्न सकियो भने शुक्लाफाँटा क्षेत्रकै एक महत्त्वपूर्ण पर्यटकीय केन्द्र बन्न सक्छ । प्रकृति, वन्यजन्तु र संस्कृति तीनै कुरा एउटै ठाउँमा भेटिने भएकाले यो ठाउँको महत्व धेरै छ । आवश्यक पूर्वाधार विकास नहुँदा यसको सम्भावना प्रयोग हुनसकेको छैन ।
नागेश्वर वनको अर्को विशेषता भनेको यहाँ बसोबास गर्ने राना तथा चौधरी थारू समुदाय हो । थारू समुदायको मौलिक जीवनशैली, परम्परागत घर, विशिष्ट खानपान र सांस्कृतिक नृत्यले यस क्षेत्रलाई सांस्कृतिक पर्यटनका लागि पनि आकर्षक बनाएको छ । पर्यटकलाई स्थानीय जीवनशैलीसँग जोड्ने होमस्टे अवधारणासमेत यहाँ सहजै लागू गर्न सकिने देखिन्छ ।
स्थानीय धनबहादुर चौधरीले भने, “यति सुन्दर ठाउँ भएर पनि न त प्रचारप्रसार भएको छ, न आवश्यक पूर्वाधार बनेको छ ।” उनका अनुसार योजना अभावकै कारण वन क्षेत्र पर्यटकीय गन्तव्यका रूपमा विकास हुनसकेको छैन । पूर्वपश्चिम महेन्द्र राजमार्गसँगै जोडिएको यस वनमा सहज पहुँच भए पनि व्यवस्थित प्रवेशद्वार, पदमार्ग, विश्रामस्थल, सूचना बोर्ड, भ्यूटावरजस्ता आधारभूत संरचना अभावमा पर्यटक आकर्षित गर्न नसकेको चौधरीको भनाइ छ ।
वन संरक्षणकर्मी कृष्णबहादुर ऐरका अनुसार यदि वन क्षेत्रमा पदमार्ग निर्माण, बर्ड वाचिङ टावर, सिमसार व्यवस्थापन, थारू सांस्कृतिक सङ्ग्रहालय र होमस्टेजस्ता पूर्वाधार विकास गर्न सकियो भने यसलाई ‘शुक्लाफाँटा उद्यान’का रूपमा विकास गर्न सकिन्छ ।
सुनदेवी उपभोक्ता समितिका अध्यक्ष भरतबहादुर विष्टका अनुसार नागेश्वर वनलाई नजिकै रहेको हिरापुरको कृष्णसार संरक्षण क्षेत्र, तारा ताल र अन्य पर्यटकीयस्थलसँग जोडेर एकीकृत पर्यटन सर्किट निर्माण गर्न सकिन्छ । “यसले पर्यटकलाई एकै ठाउँमा धेरै अनुभव दिनेछ”, उनले भने।
यस किसिमको विकासले स्थानीयस्तरमा रोजगारी सृजना गर्ने, सामुदायिक वनको आम्दानी बढाउने र स्थानीय उत्पादन तथा हस्तकलालाई बजार उपलब्ध गराउने उहाँ बताउनुहुन्छ । जैविक विविधता संरक्षण र वातावरणीय सन्तुलन कायम राख्न पनि यसले महत्त्वपूर्ण भूमिका खेल्नेछ ।
नगरपालिकाको वडा नं ६ का अध्यक्ष दानबहादुर ऐरले नागेश्वर वनको प्राकृतिक सुन्दरता र सम्भावनालाई उजागर गर्दै यसलाई योजनाबद्ध रूपमा विकास गर्न सके शुक्लाफाँटा क्षेत्रकै प्रमुख पर्यटकीय गन्तव्य बन्न सक्ने बताउनुभयो । “स्थानीय तह, समुदाय र सम्बन्धित निकायबीच समन्वय हुनसके यो सम्भावना वास्तविकतामा बदल्न धेरै समय लाग्दैन”, उनले भने।
“सामुदायिक वन उपभोक्ता समितिले पनि यस क्षेत्रलाई पर्यटकीय उद्यानका रूपमा विकास गर्न आवश्यक बजेट, प्राविधिक सहयोग र योजना स्वीकृतिका लागि सम्बन्धित निकायसँग पहल गर्नुपर्छ, त्यसमा हामी पनि सहयोग गर्छौँ” उनले भने।रासस
६ वैशाख २०८३, आइतवार १०:११ बजे प्रकाशित













