डडेल्धुरामा देउवाको विरासत जोगाउन नैनसिंहको कसरत
धनगढी। सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला डडेल्धुरा केवल भौगोलिक एकाइ होइन, नेपालको लोकतान्त्रिक यात्राको प्रतीक बनेको भूमि हो । पूर्वमा डोटी, उत्तरमा बैतडी, दक्षिणमा कञ्चनपुर र पश्चिममा भारतको उत्तराखण्डसँग सीमा जोडिएको यो जिल्ला राजनीतिक दृष्टिले सधैं केन्द्रमा रह्यो । यसको कारण भूगोल होइन, इतिहास हो । त्यो इतिहाससँग जोडिएको नाम हो–शेरबहादुर देउवा ।
तीन दशकभन्दा बढी समय डडेल्धुराबाट निरन्तर निर्वाचित हुँदै राष्ट्रिय राजनीतिमा प्रभाव जमाएका देउवा र डडेल्धुरा एकअर्काका पर्यायझैँ बने । तर, समय बदलिएको छ । पुस्तान्तरणको बहस तीव्र छ । आगामी निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट नैनसिंह महर चुनावी मैदानमा उत्रिएसँगै एउटा प्रश्न व्यापक रूपमा उठेको छ– के नैनसिंहले शेरबहादुरको विरासत जोगाउन सक्लान ?
डडेल्धुराको सदरमुकामबाट करिब १० किलोमिटर टाढा भात्काडा बजार, त्यहाँबाट १२ किलोमिटर भित्री सडक पार गरेपछि पुगिन्छ मटेला गाउँ । यही गाउँमा २००३ सालमा जन्मिएका शेरबहादुर देउवा साधारण मध्यमवर्गीय परिवारका सन्तान थिए । ग्रामीण परिवेशबाट उदाएका देउवाले २०४८ सालदेखि २०७९ सालसम्म लगातार सात पटक निर्वाचन जिते ।
२०४८, २०५१, २०५६, २०६४, २०७०, २०७४ र २०७९– यी सातवटै निर्वाचनमा उनले विजय हासिल गरे । पाँच पटक प्रधानमन्त्री बनेका देउवाले जम्मा पाँच वर्ष सात महिना सात दिन देशको नेतृत्व गरे ।
राजनीतिक व्यवस्था परिवर्तन भयो– बहुदलदेखि गणतन्त्रसम्म। प्रतिस्पर्धी फेरिए, मतदाता थपिए, निर्वाचन प्रणाली बद्लियो । तर डडेल्धुरामा देउवाको पकड कमजोर भएन ।
उनको विजय केवल व्यक्तिगत सफलता थिएन; त्यो सुदूरपश्चिमलाई राष्ट्रिय राजनीतिको केन्द्रमा स्थापित गर्ने प्रक्रिया थियो । डडेल्धुरा, जो कहिल्यै राजधानीको नजरमा प्राथमिकतामा थिएन, देउवाकै कारण बारम्बार सिंहदरबारको ध्यानमा आयो ।
तर राजनीति स्थिर हुँदैन । समयसँगै नेतृत्व पनि बदलिन्छ । देउवाको सक्रिय राजनीतिक यात्राको उत्तरार्धसँगै कांग्रेसभित्र र डडेल्धुरामा पुस्तान्तरणको चर्चा सुरु भयो । यही सन्दर्भमा नैनसिंह महरको उदयलाई धेरैले स्वाभाविक उत्तराधिकारीको रूपमा हेरेका छन् ।
नैनसिंह महर डडेल्धुराको भागेश्वर गाउँपालिका–३, लामिकाण्डेमा २०३१ साउन १४ गते जन्मिएका हुन् । ग्रामीण जीवन, अभाव र सीमित अवसरबीच हुर्किएका महरले सानैदेखि असमानताको अनुभूति गरे । ‘नीति परिवर्तन नभई, नियति परिवर्तन हुँदैन’ भन्ने चेतना उनीभित्र प्रारम्भिक उमेरमै पलायो ।
२०४६ सालको जनआन्दोलनको माहोलमा १५ वर्षकै उमेरमा नेपाल विद्यार्थी संघको इकाइ अध्यक्ष बनेका महरले विद्यार्थी राजनीतिबाट आफ्नो यात्रा सुरु गरे । २०४७ कार्तिक १६ गते शेरबहादुर देउवा उपस्थित कार्यक्रममा दिएको ओजपूर्ण भाषणले उनलाई जिल्लास्तरमै चिनायो । तर उनको यात्रा सहज थिएन ।
२०६२÷६३ को जनआन्दोलनका क्रममा तीन महिना जेल जीवन बिताएका उनले २०६४ चैत २४ गते माओवादी कार्यकर्ताबाट अपहरण र मरणासन्न कुटपिट सहनुप¥यो । नानीगाड नदीको बगरमा मृत ठानी छोडिएका महर चार घण्टापछि होसमा आए ।
घाइते शरीरसहित भोलिपल्टै चुनावी अभियानमा फर्किनु उनको साहसिक राजनीतिक परिचय बन्यो । यही घटनाले उनलाई डडेल्धुरामा ‘संघर्षशील युवा’का रूपमा स्थापित ग¥यो ।
नेपाल विद्यार्थी संघमा २०६४ मा केन्द्रीय उपाध्यक्ष र २०७३ मा केन्द्रीय अध्यक्ष बनेका महरले विद्यार्थी राजनीतिमा संरचनात्मक सुधारका एजेण्डा अघि सारे ।
उनी स्ववियुमा २८ वर्ष उमेर हद, ३२ वर्षे उमेर सीमा, शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण, खुला विश्वविद्यालयको अवधारणा, सेमेस्टर प्रणाली विस्तार लगायतको सुधार प्रयासले उनलाई ‘पढ्ने नेता’को छवि दिलायो ।
राजनीतिशास्त्रमा स्नातकोत्तर, कानुनमा स्नातक, एमफिल उत्तीर्ण तथा हाल पीएचडी अध्ययनरत महर वैचारिक राजनीतिमा सक्रिय छन् । ‘शिक्षाका चुनौतीहरू’, ‘अबको कांग्रेस’, ‘संकल्प’ जस्ता कृतिहरूले उनलाई नीति बहसमा संलग्न नेताका रूपमा चिनायो ।
अहिले नेपाली कांग्रेसको केन्द्रीय सदस्य तथा शिक्षा विभाग प्रमुख रहेका महर शिक्षा र स्वास्थ्यमा राज्यको पूर्ण दायित्व हुनुपर्ने समाजवादी धारका पक्षधर हुन् ।
विरासतको अर्थ केवल जित होइन, दृष्टिकोण पनि चाहिन्छ । शेरबहादुर देउवाको विरासत के हो ? केवल सात पटकको चुनावी विजय ? पाँच पटक प्रधानमन्त्री बन्ने अवसर ? वा सुदूरपश्चिमलाई राष्ट्रिय राजनीतिमा स्थापित गर्ने योगदान ? विरासतको वास्तविक अर्थ राजनीतिक स्थायित्व, लोकतान्त्रिक मूल्यप्रति प्रतिबद्धता र संस्थागत विकास हो । देउवाको नेतृत्वमा सुदूरपश्चिममा सडक, शिक्षा, स्वास्थ्य र प्रशासनिक संरचना विस्तार भए । यद्यपि आलोचना पनि भए–विकासको गति अपेक्षित नभएको, युवापलायन रोक्न नसकिएको, ठूला परियोजनाहरू अधुरै रहेको जस्ता प्रश्न उठिरहे । अब प्रश्न उठ्छ–के नैनसिंहले केवल नाम जोगाउने हुन्, कि नयाँ उचाइ दिने ?
नैनसिंह महरले डडेल्धुरालाई सुदूरपश्चिमको शैक्षिक, पर्यटकीय र व्यापारिक केन्द्र बनाउने लक्ष्य अघि सारेका छन् । अत्तरिया–डडेल्धुरा भीमदत्त राजमार्ग स्तरोन्नति, पश्चिम सेती र पञ्चेश्वर परियोजना निष्कर्षमा पु¥याउने, डडेल्धुरा मेडिकल कलेज पूर्ण सञ्चालन, अमरगढीलाई ‘स्मार्ट हिल स्टेशन’ विकास, कृषि आधुनिकीकरण र जैविक ब्रान्डिङ, युवा उद्यमशीलता र स्टार्टअप प्रवद्र्धन, धार्मिक र प्राकृतिक पर्यटन विस्तार लगायत उनका प्रमुख एजेण्डा हुन । तर कार्यान्वयन राजनीतिक इच्छाशक्ति र संघ–प्रदेश–स्थानीय तहबीच समन्वयमा निर्भर छ । महरको दाबी छ–‘जिल्लाको जमिन, जल, जंगल, जनशक्ति र ज्ञानलाई जोड्न सके डडेल्धुरा अवसरको केन्द्र बन्न सक्छ ।’
डडेल्धुराको राजनीति लामो समय ‘व्यक्तिकेन्द्रित’ रह्यो। देउवाको व्यक्तित्व नै संगठनको आधार बन्यो । तर अहिले युवा पुस्ता नीतिगत, पारदर्शी र जवाफदेही राजनीतिका पक्षमा छ ।
नैनसिंह महर आफूलाई विभाजनभन्दा सहकार्यको पक्षधर बताउँछन् । उनी डिजिटल पूर्वाधारमार्फत सार्वजनिक सेवा सुधार, जनपक्षीय कानुन निर्माण र सुशासनलाई प्राथमिकता दिन्छन् । देउवाको विरासत जोगाउने र आफ्नो स्वतन्त्र पहिचान स्थापित गर्ने उनको चुनौती देखिन्छ ।
यदि उनी केवल ‘उत्तराधिकारी’ बनेर सीमित भए भने उनको राजनीतिक यात्रा छायाँमै सीमित हुन सक्छ । तर यदि उनले विरासतलाई नवीन दृष्टिकोणसँग जोड्न सके भने उनी नयाँ अध्याय सुरु गर्न सक्छन् ।
संविधान जारीपछि जनताले स्थायित्व र समृद्धिको अपेक्षा गरेका थिए । तर बेरोजगारी, पलायन, सुस्त विकास र राजनीतिक अस्थिरताले असन्तुष्टि जन्मायो । डडेल्धुरा पनि यसबाट अछुतो छैन । युवा विदेशिने क्रम जारी छ । कृषि परम्परागत छ । पर्यटन सम्भावना भएर पनि पूर्ण उपयोगमा आएको छैन । महरले यो असन्तुष्टिलाई ऊर्जा मान्दै सुधारवादी राजनीति अघि सार्ने प्रतिबद्धता जनाएका छन् ।
शेरबहादुर देउवाको राजनीतिक यात्राले डडेल्धुरालाई राष्ट्रिय नक्सामा बलियो बनायो । त्यो इतिहासलाई कसैले मेट्न सक्दैन । तर इतिहास जोगाउनु मात्र पर्याप्त हुँदैन; त्यसलाई समयानुकूल रूपान्तरित गर्नुपर्छ । नैनसिंह महरको परीक्षा यहीँ छ । उनको संघर्ष, शैक्षिक पृष्ठभूमि र नीतिगत सोचले आशा जगाउँछ । तर राजनीति अन्ततः जनविश्वासको परीक्षा हो । डडेल्धुराको मतदाताले अब निर्णय गर्नेछन । के उनीहरू इतिहासलाई निरन्तरता दिनेछन ? कि नयाँ अध्याय लेख्नेछन ? सायद यो प्रश्नको उत्तर चुनावी नतिजाले दिनेछ । तर यति निश्चित छ–डडेल्धुराको राजनीति नयाँ मोडमा उभिएको छ, जहाँ विरासत र परिवर्तनबीच सन्तुलन कायम गर्ने नेता नै सफल हुनेछ ।यसपटक तीन स्वतन्त्रसहित १३ जनाले उम्मेदवारी दर्ता गराएका छन्। दलहरूबीचको प्रतिस्पर्धा रोचक बन्दै जाँदा जिल्लाको चुनावी माहोल पनि तातेको छ।
नेपाली कांग्रेसबाट नैनसिंह महर उम्मेदवार बनेका छन् भने नेकपा (एमाले) बाट चक्रप्रसाद स्नेही चुनावी मैदानमा छन्। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट मानसिह माल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट डा. ताराप्रसाद जोशी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट गोविन्द खडायत प्रतिस्पर्धामा उत्रिएका छन्।
यसैगरी आम जनता पार्टीबाट खडकबहादुर ठकुराठी, राष्ट्रिय जनमोर्चाबाट चन्द्रदेव विक, नेपाल मजदुर किसान पार्टीबाट सुरेन्द्रराज भट्ट, जयमातृभूमि पार्टीबाट लक्ष्मीदत्त भट्ट र श्रम संस्कृति पार्टीबाट महेन्द्र पुनमगरले उम्मेदवारी दर्ता गराएका छन्।
त्यस्तै, गोरखबहादुर ऐर, सुरेन्द्र रावल र तीर्थराज उप्रेतीले स्वतन्त्र उम्मेदवारी दिएका छन्।
जिल्लामा कुल ९३ हजार ४०३ मतदाता रहेका छन्। २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा ९१ हजार २०१ मतदाता रहेका थिए। यस अवधिमा २ हजार २०२ मतदाता थपिएका छन्। हाल कायम मतदातामध्ये ४६ हजार ९५७ पुरुष र ४६ हजार ४४६ महिला रहेका छन्।
यद्यपि चुनावी प्रतिस्पर्धा मुख्यतः नेपाली कांग्रेसका नैनसिंह महर र राष्ट्रिय स्वतन्त्र पार्टीका डा. ताराप्रसाद जोशीबीच केन्द्रित हुने देखिएको छ। दुवै उम्मेदवारले घरदैलो अभियान तीव्र पारेका छन् भने मतदातालाई आकर्षित गर्न आ–आफ्ना एजेन्डा सार्वजनिक गरिरहेका छन्।
२९ माघ २०८२, बिहीवार २१:२० बजे प्रकाशित













