डा. ताराप्रसाद जोशीको नियति : ओली-माधवको अत्याचारपछि कुलमानको साथ, घनश्यामलाई बाईबाई

डडेल्धुरा । अन्ततः डा.ताराप्रसाद जोशी कुलमान घिसिङ संरक्षित उज्यालो नेपाल पार्टीमा देखिएका छन् । २५ वर्षको उमेरमा डडेल्धुरा एमालेको सचिवका रूपमा नेतृत्व गरे, अध्यक्ष प्रणालीमा दुई पटक बाजी मारे । अन्ततः कुलमान संरक्षित दलमा संलग्न भए । तर, डा. जोशीका निम्ति यो यात्रा खुसीभन्दा बढी बाध्यताको हो । एमालेमा हुँदा केपी ओली र माधव नेपालले मिलिमिली दिएको दुस्ख, माधवले एमाले विभाजन गरेपछि फेरि उनले दिएका ‘मानसिक यातना’ पछि उनले यो बाटो रोजेका हुन् । पछिल्लो समय घनश्याम भुसालहरूको मार्क्सवादी अध्ययन केन्द्रमा जोडिएका उनले अहिले भुसाललाई पनि बाईबाई गरेका छन् । ‘केस स्टडी’ गर्दै जाँदा उनी एक ‘राजनीति पीडित’ का रूपमा चित्रित हुन्छन् ।

नयाँ दिल्लीको जवाहरलाल नेहरू युनिभर्सिटी (जेएनयु) बाट अन्तर्राष्ट्रिय राजनीति र कूटनीतिक सम्बन्धमा सम्बन्धमा विद्यावारिधि ९पीएचडी० गरेका डा। जोशीको वर्तमान पद हो, सुदूरपश्चिम प्रदेशसभा सदस्य । उनले स्वतन्त्र उम्मेदवार भएर डडेल्धुरामा चुनाव जितेका हुन् ।

२०४८ सालको पहिलो संसदीय निर्वाचनताका शेरबहादुर देउवाको जिल्लामा कोही मान्छे कम्युनिष्ट हुनु अपराधसरह मानिन्थ्यो । तत्कालीन एमालेको सबभन्दा कमजोर क्षेत्र नै सुदूरपश्चिम थियो । त्यसमा पनि डडेल्धुरा त कम्युनिष्टहरुले चिहाउन पनि ‘नपाउने’ ठाउँ । त्यहाँ २५ वर्षीय डा. जोशी एक्लै एमाले बनेर उभिए । पार्टीको जिल्ला सचिव थिए । उनी डडेलधुरावासी त थिए नै, अझ शेरबहादुर देउवाकै गाउँ गन्यापधुराका बासिन्दा हुन् । उनी २०२७ सालमा त्यहीँ जन्मिए । आज पनि डडेल्धुराका बासिन्दा शेरबहादुरको जीवित मात्र हैन, लास ल्याएर उठाए पनि चुनावमा भोट हाल्ने जबर्जस्त अडानमा छन् । डा। जोशी त्यस्तो जिल्लामा एमाले भएर बलियोसँग उभिने पहिलो पात्र हुन् ।

०५५ सालताका उ उनी राजनीतिक जिम्मेवारीसँगै पत्रकारितामा लागे । कञ्चनपुरबाट प्रकाशन हुने ‘शिखा’ साप्ताहिकको प्रमुख सम्पादक भए । कान्तिपुर, नेपाल साप्ताहिक र भारतको हिन्दुस्तान टाइम्सका लागि स्तम्भ लेखे । २०५४ मा एमाले विभाजन हुँदा जिल्ला कमिटी नै साथमा लिएर मालेमा लागे । जिल्ला नै एमालेमुक्त बनाए । २०५८ मा एमालेमा उनी एकता प्रक्रियाअन्तर्गत फर्किए । सँगै जिल्लामा एमाले पनि फर्कियो। अहिले एमाले केन्द्रीय सदस्य, प्रदेशका पूर्वमन्त्री तथा जिल्ला इन्चार्ज पठानसिंह बोहरासहित थुप्रैलाई उनले पार्टी सदस्य बनाए ।

एमालेको बुटवलमा सम्पन्न आठौँ महाधिवेशनताका उनी केपी ओली(माधव नेपाल गठबन्धनविरुद्ध झलनाथ खनालका पक्षमा उभिए । त्यसबापत उनले अनेकन भुक्तान व्यहोरे । बुटवलबाट फर्किएपछि पार्टीको जिल्ला अध्यक्षमा प्यालनसहित जिते । तर, ओली(माधव समूहले उनलाई अवैधानिक करार गर्दै १८ महिनासम्म केही काम गर्न दिएनन् । त्यसपछि पूरक जिल्ला अधिवेशनबाट नयाँ नेतृत्वका निम्ति अर्को निर्वाचन भयो । त्यसमा फेरि उनी पुरानै प्यानलसहित जितेर अध्यक्ष भए ।

२०७० सालमा सम्पन्न संविधानसभाको दोस्रो निर्वाचनमा देउवालाई हराउने संकल्पसहित उम्मेदवार भए । एमालेकै पदम पाल र विक्रम शाहीहरु जोशीलाई हराउने कित्तामा सक्रिय हुँदा जिल्लाका आधा एमाले मत उनले पाएनन् । त्यसमध्ये शाही माधव नेपालदेखि एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसम्मका प्रिय पात्र हुन् । नेपाल डडेल्धुरा गएको बेला उनकै घरमा बस्छन् ।

फेरि माधव रोज्दा‘

त्यत्तिको दुस्ख पाएर पनि २०७८ को एमाले विभाजनमा उनले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी नै रोजे । तर, दुखबाहेक केही पाएनन् । २०७९ को प्रदेशसभा निर्वाचनमा उक्त पार्टीको रणनीतिक योजनाअन्तर्गत उनले उम्मेदवारी दिए । शर्त थियो, पछि फिर्ता हुनुपर्ने । तर, उनले शर्त मानेनन् । अगाडि बढे । चुनाव जिते । यसक्रममा माधव नेपालका अनेकौँ हप्की खाए । शेरबहादुरलाई नरिझाई न आफूले, न त पार्टीका अन्य उम्मेदवारले संघीय संसदको चुनाव जित्न नसक्ने कारण नेपालले उनलाई उम्मेदवारी निष्क्रिय बनाउन भनेका थिए । मानेनन् ।

निर्वाचनपछि सुदूरपश्चिम प्रदेशसभामा एकीकृत समाजवादीको स्थिति रक्षात्मक बन्यो । यदि स्वतन्त्र भएर जितेका डा। जोशी एकीकृत समाजवादीमा लागेका भए उक्त पार्टी प्रदेशसभामा सुदृढ हुन्थ्यो । तर, माधव नेपालले अनेकौँ जुक्ति लगाउँदा पनि उनले मानेनन् ।

पछि उक्त पार्टीमा घनश्याम भुसाल जोडिए । उनले पनि डा। जोशीलाई पार्टीमा फर्काउन पटकपटक कुरा गरे । तर, माधवको पार्टीमा कदापि जान्न भन्दै प्रत्येकपटकका आग्रह अस्वीकार गरे ।

अन्ततः उनी कुलमान संरक्षित उज्यालो पार्टीमा दोस्रो वरीयतामा देखिएका छन् ।

 


२६ कात्तिक २०८२, बुधवार ११:५१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु