डोटीको जोरायल गाउँपालिकाका अध्यक्ष ओझाको ह्वाट्सएप ह्याक, विभिन्न व्यक्तिहरुसँग रकम मागिदै
धनगढी । डोटीको जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाको ह्वाट्सएप ह्याक भएको छ । ह्याकारले ह्वाट्सएप म्यासेज मार्फत विभिन्न व्यक्तिहरुसंग रकम माग गरिरहेको ओझाले बताएका छन् । गाउँपालिका महासङ्घ, सुदूरपश्चिमका पूर्व अध्यक्षसमेत रहेका ओझाको ह्वाटसएप शनिवार साँझदेखि ह्याक भएको हो।
उनले प्रयोग गर्दै आएको ९८४८४७८९८८ नम्बरको ह्वाटसएप ह्याक गरेर ह्याकरले ओझाको जिमेल एकाउन्ट चेन्ज गरेर अहिले विभिन्न व्यक्तिहरुसंग फरक – फरक व्यक्तिको बैंक क्युआर पठाउदै सहयोग गर्न भन्दै रकम माग गरिएको छ। ओझाले गाउँपालिका महासंघको बैठकका लागि भन्दै पठाएको लिङ्कका कारण आफू ह्याकरको सिकार भएको बताएका छन्।
उनले भने, ‘गाउँपालिका राष्ट्रिय महासङ्घको जुम मिटिङ भनियो, मलाई ओटीपी मागियो।’ आफू गाउँपालिका महासंघको हाल केन्द्रीय सदस्य रहेकाले मिटिङ होला भनेर ओटीपी दिएको बताए ।
अहिले उनले ह्याक भएको ह्वाटसएप रिकभर गर्ने प्रयास गरिरहेको बताएका छन् साथै कसैलाई पनि रकम नपठाउन अनुरोध गरेका छन् ।
८ चैत २०८२, आइतवार १३:३१ बजे प्रकाशित













