punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढीको मुख्य सडक कालोपत्रको काम अन्तिम चरणमा

Chaupati
safha napa

धनगढी।धनगढीको मुख्य बजार क्षेत्रको सडक कालोपत्रको काम अन्तिम चरणमा पुगेको छ। कैलाली पुलदेखि हुलाकी राजमार्गको जिरो प्वाइन्टसम्म कालोपत्रे सडक निर्माणको काम अन्तिम चरणमा पुगेको हो।

कैलाली पुलदेखि पार्क मोडसम्म मात्रै सडक कालोपत्रे गर्न बाँकी रहेको छ। बाँकी रहेको यो खण्डमा पनि एक हप्ताभित्रै कालोपत्रेको काम हुने पूर्वाधार विकास कार्यालय धनगढीले बताएको छ। सडक कालोपत्रेको काम अन्तिम चरणमा पुगिसकेको पूर्वाधार विकास कार्यालयका सूचना अधिकारी विनोद खड्काले बताए। उनले भने, ‘काम अन्तिम चरणमा पुगेको छ। बाँकी रहेको खण्डमा सबै तयारी भइसकेकाले एक हप्ताभित्रै कालोपत्रे हुन्छ।’ उनले वैशाखभित्रै कालोपत्रे सडक निर्माणको सबै काम पूरा हुने बताएका छन्।

सुदूरपश्चिम प्रदेश सरकारको लगानीमा बनिरहेको यो सडक निर्माणका लागि सडक अधिकार क्षेत्रमा परेका ४२८ संरचनालाई धनगढी उपमहानगरपालिकाले भत्काएको थियो। उपमहानगरपालिकाले सडक अधिकार क्षेत्रमा परेको संरचना हटाएपछि सडक विस्तारको काम सुरु गरिएको थियो। यसअघि यो सडक क्षेत्रीय सहरी विकास आयोजनाले बनाउने तय भएको थियो। तर, भौतिक संरचना हटाउने सवालमा विवाद बढेपछि अन्यतिर काम गरेर सो आयोजना फिर्ता गएको थियो।

भ्याटसहित ५१ करोड ६८ लाख ७८ हजार रुपियाँको लागतमा कैलाली पुलदेखि हुलाकी राजमार्गको जिरो प्वाइन्टसम्म सडक बनिरहेको छ। सडक निर्माणका लागि २०८० वैशाख २७ गते धनगढीकै केएस कन्स्ट्रक्सन प्रालिले ठेक्का पाएको थियो। २०८२ वैशाख २६ गतेसम्म ठेक्का समयावधि सकिँदै छ।

यो सडकको दुवैतर्फ पैदलमार्गसहित पक्की नाला, सोलार सडकबत्ती रहने जनाइएको छ। २ दशमलव ३ किलोमिटर लामो बन्ने कालोपत्र सडकको चौडाइ ३० मिटर तोकिएको छ। सडक निर्माणका लागि चालु आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेश सरकारले १० करोड रुपियाँ बजेट विनियोजन गरेको छ। यस खण्डमा कालोपत्रे सडक निर्माण भएपछि धनगढीको मुख्य बजार क्षेत्रमा फुटपाथ, मेडियन र व्यवस्थित नालीसहितको सडक निर्माणको काम पूर्ण रूपमा पूरा हुने छ। सडक निर्माण भइरहेका कारण विगत केही वर्षदेखि मुख्य बजार क्षेत्रको व्यापार, व्यवसाय प्रभावित बन्दै आएको छ।


२६ चैत २०८१, मंगलवार १४:०४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु