पत्रकार उपाध्यायको ‘आमा म आउँदैछु’ कविता संग्रहको विमोचन
धनगढी । पत्रकार दीर्घराज उपाध्यायद्वारा लिखित कविता संग्रह ‘आमा म आउँदैछु’ को आज धनगढीमा विमोचन गरिएको छ । ऐश्वर्य प्रकाशनले आयोजना गरेको विमोचन समारोहमा साहित्यकार डा.नवराज लम्साल, सुदूरपश्चिम विश्वविद्यालयका पूर्व रजिष्ट्रार डा. हेमराज पन्त, सुदूरपश्चिम प्रदेश सभा सदस्य धर्मराज पाठक, साहित्यकार श्रेष्ठ प्रिया पत्थर, ऐश्वर्य प्रकाशनका अध्यक्ष गणेश जोशीले संयुक्त रुपमा कविता संग्रहको विमोचन गरे थिए।
कार्यक्रमका प्रमुख अतिथि साहित्यकार नवराज लम्सालले कवि उपाध्यायले कोरोना महामारी र द्वन्द्वको क्रममा देखिएका आक्रोस र पीडा कविता संग्रहमा समेटिएको बताए । उनले कविता संग्रह आर्थिक विकास र परिवर्तनका लागि शङ्खघोष हुन सक्ने बताए । लम्सालले धनगढीमा सामान्य अवस्थाबाट पत्रकारिता सुरु गरेका उपाध्यायले आफूलाई परिष्कृत गर्दै बृहत्तर पहिचान बनाएकोमा धगढीबासीले गर्व गर्नुपर्ने बताए ।
उपाध्यायका कवितामा देश प्रेम छ । समाजका कुरीति, बिसंगतीहरुमाथि उनले तिखो प्रहार गरेका छन्, मदनपुरस्कार बिजेता लम्सालले भने, कवि उपाध्यायले कवितामा बिचार मात्र लेखेका छैनन् । हृदय लेखेका छन् । र, समाजको चेत र चेतना लेखेका छन् ।
त्यस्तै, सुदूरपश्चिम क्याम्पसका पूर्व रजिष्ट्रार डा. पन्तले पत्रकारिताका माध्यमबाट सुदूर पश्चिमको विकास र समृद्धिका सवालमा सधै कलम चलाउदै आएका उपाध्यायले कोभिडमा नागरिकको जीवन रक्षाका लागि गरेको मानवीय कार्य प्रशंनीय भएको बताए । प्रा.डा. पन्तले उपाध्यायको कवितामा प्रेम, सद्भाव र समाजमा भएका विकृतिाथि चोटिलो प्रहार गरिएको बताए ।
पुस्तकमाथि टिप्पणी गर्दै कैलाली बहुमुखी क्याम्पसका सहप्राध्यापक सीताराम भट्टले उपाध्यायका कवितामा कोभिडमा नागरिकले भोगेको पीडा, राज्यको अकर्मयण्यता, राजनीतिका बिसंगतीसंगै प्रेम समेटिएको बताए । उनले अढाई दशकदेखि पत्रकारितामा सक्रिय उपाध्यायले पत्रकारितासंगै साहित्य र सामाजिक कार्य मार्फत सुदूर पश्चिममा ठूलो योगदान पुर्याएको चर्चा गरे । नेपाली साहित्यमा उपाध्यायको कृति एउटा गतिलो सम्पत्तीका रुपमा दर्ज हुने बताउदै समालोचक भट्टले यहि समाजमा घटित घटनाक्रमहरुलाई उपाध्यायले कवितामा उतारेको बताए ।
उनले राजनिती गर्नेहरुले समाजका लागि भन्दा आफू र परिवारकाको स्वार्थका लागि काम गरिरहेकोले त्यो आक्रोश एउटा कविमनले कविता मार्फत चित्रण गरकोे बताएका छन ।
अढाई दशकदेखि पत्रकारिता क्षेत्रमा सक्रिय रहेका उपाध्यायको यो चौथो कृति हो । यसअघि उनको एउटा कविता संग्रह, एउटा गजल संग्रह र द्वन्द्व पत्रकारिताको एक दशक पुस्तक प्रकाशित छ ।
उपाध्यायले मुलुकले भोगेका विपत्ति, नागरिकका पीडा, बिकृत राजनीति, समय र परिवेशबाट उद्देलित भएर कवितामा भावनाहरु प्रस्फुटित भएको बताए ।
उनले कोभिड महामारी र द्वन्द्वको क्रममा मुलुक र नागरिकले भोगेको व्यथा पनि कवितामा उतारेको बताए ।
ऐश्वर्य प्रकाशन प्रा।लिका अध्यक्ष गणेश प्रसाद जोशीले उपाध्यायद्धारा लिखित एउटा ओजिलो साहित्यिक कृति प्रकाशन गर्न पाउदा खुशी व्यक्त गरे ।
जोशीको अध्यक्षतामा सम्पन्न विमोचन समारोहमा बरिष्ठ साहित्यकार श्रेष्ठ प्रिया पत्थर र वरिष्ठ पत्रकार टीकाराम यात्रीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
विमोचन समारोहमा लेखक, साहित्यकार, राजनीतिकर्मी, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।
२९ माघ २०८१, मंगलवार १९:५६ बजे प्रकाशित













