आज उपनिर्वाचन, सुदूरपश्चिमा ५ पदका लागि मतदान हुँदै
धनगढी।आज सुदूरपश्चिममा ५ पदका लागि मतदान हुँदैछ । बझाङ, बाजुरा, डोटी, दार्चुला र कञ्चनपुरका ५ स्थानीय तहमा आज उपनिर्वाचन अन्तरगत मतदान हुन लागेको हो । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्ष, बझाङको सुर्मा गाउँपालिका–४ को वडाध्यक्ष, डोटीको पूर्वीचौकी गाउँपालिका–३ को वडाध्यक्ष, दार्चुलाको दुहुँ गाउँपालिका–५ को वडाध्यक्ष र कञ्चनपुरको भीमदत्त नगरपालिका–६ को वडाध्यक्षका लागि उपनिर्वाचन भइरहेको छ ।उपनिर्वाचन हुन लागेका पाँचवटै ठाउँमा २२ वटा मतदान केन्द्र र १० वटा मतदान स्थल तोकिएका छन् भने २६ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा होमिएका छन् । जिल्ला समन्वय समिति कैलालीको संयोजकमा भने नेपाली काँग्रेसकी टीका चौधरी भुल निर्विरोध निर्वाचित भइसकेकी छन् ।
यसैबिच उपचुनावलाई शान्तिपूर्ण बनाउन बाजुराका राजनीतिक दलहरूले संयुक्त आह्वान गरेका छन् । सबै दलका उच्च तहका नेताहरुले तीन बुँदे विज्ञप्ति जारी गर्दै उपचुनावलाई शान्तिपूर्ण बनाउन अपिल गरेका हुन् । ‘स्वामीकात्तिक खापर गाउँपालिकामा हुन गइरहेको उपनिर्वाचनमा सबै मतदाने केन्द्रमा गरिने मतदान शान्तिपूर्ण तारिकाले सम्पन्न गर्ने । उक्त निर्वाचनमा भाग लिइ यस गाउँपालिका सबै मतदाताहरूलाई मतदान गर्ने अधिकारको प्रयोग गर्न अनुरोध गर्ने’, विज्ञप्तिामा भनिएको छ । विज्ञप्तीमा मतदान प्रक्रियामा खटिएका सबै कर्मचारी र सुरक्षाकर्मीलाई दलहरुका तर्फबाट सहयोग गर्ने र तेस्रो बुँदामा दलहरूबीच नियमित छलफल गरी उच्च राजनीतिक संस्कृति निर्माणको प्रयास गर्ने सहमति उल्लेख गरिएको छ । विज्ञप्ति जारी गर्नेमा एमाले स्थायी कमिटी सदस्य कर्ण थापा, एमालेकै केन्द्रीय सदस्य लालबहादुर थापा, नेपाली कांग्रेसका नेता जनकराज गिरी, एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्यहरू हिक्मतबहादुर शाही र नरेशबहादुर शाही लगायत छन् ।
सम्पूर्ण तयारी पूरा
यसैबिच निर्वाचन आयोगले मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । आयोगले निर्वाचन हुने देशभरका ४१ स्थानमा मतपत्र पठाएसँगै निर्वाचनको सम्पूर्ण तयारी सकिएको जनाएको हो । मतपत्र र मतपेटिका लगायत निर्वाचन प्रयोजनका लागि चाहिने सम्पूर्ण सामग्री निर्वाचन कार्यालयहरुमा पठाइसकेको आयोगको भनाइ छ । आयोगले आचारसंहिता उल्लंघनका विषयमा परेका उजुरी र निर्वाचन व्यवस्थापनका लागि जानकारी लिइ तत्कालै समस्या समाधान गर्ने गरी संयुक्त निर्वाचन सञ्चालन केन्द्र स्थापना गरेको छ ।
यसअघि आयोगले निर्वाचन हुने दिन सम्बन्धित स्थानीय तहअन्तर्गतका कार्यालयहरुमा सार्वजनिक बिदा दिने व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको थियो । देशभर उपनिर्वाचन हुने ४४ पदमध्ये रुकुममा एक वडाध्यक्ष र ओखलढुङ्गा र कैलालीका जिल्ला समन्वय समितिको सभापतिमा निर्विरोध भएसँगै अब ४१ स्थानमा मात्रै निर्वाचन हुँदैछ । निर्वाचन आयोगले आज आइतबार बिहान ७ देखि साँझ ५ बजेसम्म मतदान हुने र निर्वाचन हुने वडामा मतदाता नामावलीमा आफ्नो नाम समावेश भएको मतदान केन्द्रमा उपस्थित भई रोजेको उम्मेदवारको निर्वाचन चिन्हमा निर्धक्क भई मतदान गर्न सम्पूर्ण मतदातालाई आग्रह गरेको छ ।
मतदातालाई मताधिकारको उपयोग गर्न सहजता प्रदान गर्ने अभिप्रायले मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बरको परिचयपत्र वा सवारी चालक अनुमतिपत्रको सक्कल प्रमाणपत्रका आधारमा मतदान गर्नसक्ने व्यवस्था मिलाइएको आयोगले स्पष्ट पारेको छ तर त्यस्ता मतदाताको आयोगबाट प्रकाशन भएको अन्तिम मतदाता नामावलीमा नाम भने समावेश भएको हुनुपर्नेछ । निर्वाचन सुरक्षामा असर नपर्नेगरी मतदाताको सहजताका लागि मतदानस्थलको निश्चित क्षेत्रबाहेक यातायात सञ्चालनको उपयुक्त प्रबन्ध गर्न गृह मन्त्रालयमार्फत सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन भइसकेको आयोगको भनाइ छ । आयोगले मतदानमा अवाञ्छनीय प्रभाव पार्ने वा पार्न प्रयत्न गर्ने कार्य भए गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गरी मतदान कार्यलाई निर्बाध रूपमा सम्पन्न गर्न सम्बद्ध निकायहरूलाई निर्देशनसमेत दिएको छ ।
१६ मंसिर २०८१, आइतवार ०९:५८ बजे प्रकाशित