गेटा मेडिकलको विषय सदनमा उठाइदिन मेयर हमालको रवि लामिछानेलाई अनुरोध
धनगढी । धनगढीका मेयर हमालले गेटामा विश्वविद्यालय सञ्चालनको विषय सदनमा कुरा उठाइदिन पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई अनुरोध गरेका छन्।
रास्वपा सभापतिसमेत रहेका लामिछानेसँग सुदूरपश्चिमको एक मात्र मागका विषयमा सदनमा सशक्त रुपले कुरा उठाइदिन मेयर हमालले आग्रह गरेका हुन्। सोमवार धनगढी उपमहानगरपालिकामा रास्वपा सभापति लामिछानेसँग भएको भेटमा मेयर हमालले सिङ्गो सुदूरपश्चिमको मागका पक्षमा संसदमा आवाज बुलन्द पार्न अनुरोध गरेका हुन्।
मेयर हमालले सुदूरपश्चिममा राज्यले पूरा गर्नुपर्ने धेरै एजेन्डा मध्ये गेटाको विषय पनि एक भएकाले यहाँका जनताले २०६३ सालदेखि नै सालिन आन्दोलनका रुपमा उठाएको मागको विषयमा संसदमा कुरा उठाइदिन रास्वपासँग माग राखेका हुन्।
२०६३ सालदेखि राज्य २१ बुँदे माग राख्ने सालिन आन्दोलन सुदूरपश्चिमले चलाइरहेको कुरा मेयर हमालले लामिछाने लाई अवगत गराएका थिए ।
रास्वपा सभापति लामिछानेले गेटाको विषय आफ्नो पार्टीलाई याद भएको बताए। उनले गेटाको विषय आफ्नो पार्टीले निरन्तर रुपमा उठाइरहेको र थप सशक्त रुपले गेटाको विषय संसदमा उठाउने आश्वसन दिए ।
सरकारले २०७९ फागुनमै गेटामा मेडिकल विश्वविद्यालय स्थापना गर्ने नीतिगत निर्णय गरेको छ। विश्विवद्यालय सम्बन्धि विधेयक राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधि सभामा पुगेको छ। तर, त्यसपछि सो विधेयक पारित गरेर गेटामा मेडिकल विषयको पठनपाठन सुरू गर्नुपर्नेमा सरकार विधेयक बारे बेखबर बनेको छ।
२५ भदौ २०८१, मंगलवार ११:२९ बजे प्रकाशित