केटी जिस्क्याएको निहुँमा युवकको हत्या, चार जना मपक्राउ
विराटनगर । विराटनगरमा केटी जिस्क्याएको निहुँमा एक यवकको हत्या भएको छ ।
मंगलबार राति कटहरी गाउँपालिका १ का २१ वर्षीय युवक करण कामतको केटी जिस्क्याएको निहुँमा हत्या भएको खुलेको हो ।
हत्यामा संलग्न भएको आरोपमा चार जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
पक्राउ पर्नेमा बिराटनगरमा डेरा गरी बस्ने सोनु गिरी, दावा शेर्पा, सञ्जय पुरी र एक जना नाबालक छन् । पक्राउ परेका सञ्जय भोजपुर, शेर्पा ताप्लेजुङ र अन्य दुई जनाको घर भने विराटनगरमा भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनीहरुले कामतको हत्या विराटनगर महानगरपालिका– २ स्थित नेपाल टेलिकमको कार्यालय नजिकै कैँचीले प्रहार गरेका हुन् । उनीहरुले कामतसहित तीन जनालाई घाइते बनाएका थिए ।
गम्भीर घाइते कामतको उपचारको क्रममा कोशी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा परी कटहरी–१ जमटोकीका २२ वर्षीय विक्रम मण्डल र १७ वर्षीय अमन राय घाइते भएका छन् ।
घाइतेमध्ये रायको अवस्था गम्भीर छ । दुवै जनाको नोवेल मेडिकल कलेजमा उपचार भइरहेको छ ।
बाटोमा हिँडिरहेको बेलामा केटी जिस्क्याएको विषयमा विवाद हुँदा घटना भएको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरी नायब ज्ञानबहादुर उपरीक्षक बस्नेतले बताए ।
२५ असार २०८१, मंगलवार १९:२६ बजे प्रकाशित