एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन हुने

काठमाडौँ । नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता संचालनका लागि गठबन्धन गर्ने सहमति भएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन गर्ने र दोस्रो कार्यकालमा शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन गर्ने सहमति भएको हो ।

सोमबार राति भएको सहमतिमा कुन पार्टीले कति मन्त्रालय लिनेदेखि प्रदेशमा कुन पार्टीले कति प्रदेश सरकारको नेतृत्व लिने भन्ने विषयमा पनि छन् ।

सहमतिको ड्राफ्ट तयार गर्ने एक कांग्रेस नेताले दिएको जानकारीअनुसार ‘एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्ने र डेढ वर्षपछि देउवा प्रधानमन्त्री बन्ने’ पहिलो बुँदामा उल्लेख छ ।

ओली नेतृत्वको सरकारमा एमालेले अर्थ मन्त्रालयसहित ९ वटा मन्त्रालय र गृह मन्त्रालयसहित नेपाली कांग्रेसले १० वटा मन्त्रालय लिने सहमति भएको हो ।

त्यस्तै, एमालेले कोसी, लुम्बिनी र कर्णाली प्रदेश सरकारको नेतृत्व गर्नेछ भने कांग्रेसले बाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व गर्नेछ । मधेस प्रदेश सरकारको नेतृत्व मधेसवादी दललाई दिने सहमति बनेको हो ।

निर्वाचन प्रणाली लगायतमा संविधान संशोधन गर्नका लागि पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको नेतृत्वमा संविधान संशोधन सुझाव समिति बनाउने पनि सहमति बनेको छ ।

कांग्रेस र एमालेका नेताहरूबीच सोमबार साँझ भएको छलफलपछि एउटा सहमतिको खाका तयार भएको र त्यसलाई अन्तिम रुप दिने तयारी स्वरुप दुवै दलका नेताहरू आपसी छलफलमा रहेका छन् । राती नै बैठक बस्दा औपचारिक हस्ताक्षर पनि हुनसक्ने कांग्रेस नेताले जानकारी दिए ।


१८ असार २०८१, मंगलवार ००:२२ बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु