punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

विदेश पठाउने भन्दै ठगी गर्ने सुदूरपश्चिमका दुई जनासहित ६ पक्राउ

Chaupati
safha napa

काठमाडौँ । वैदेशिक रोजगारी तथा भिजिट भिसामा विभिन्न देश पठाइदिने भन्दै एक हजारभन्दा बढीलाई ठगी गरेको आरोपमा प्रहरीले विभिन्न कन्सलटेन्सीका छ जना सञ्चालकलाई पक्राउ गरेको छ ।

सुर्खेत वीरेन्द्रनगर नगरपालिका–९ घर भइ काठमाडौँ कोटेश्वर बस्ने २७ वर्षीय रेशम रावल, सोही ठेगाना भएका २४ वर्षीय प्रेमबहादुर रावल, डडेल्धुरा अमरगढी नगरपालिका-९ का २६ वर्षीय राजेश साउद, अछाम रामारोशन गाउँपालिका-१ का २५ वर्षीय टङ्कराज खनाल, काठमाडौँ धुम्बाराही बस्ने काभ्रेपलाञ्चोक तेमाल गाउँपालिका-९ घर भएका ३० वर्षीय सुरेन्द्र तामाङ र काठमाडौँ नरेफाँट बस्ने मोरङ पथरी शनिश्चरे नगरपालिका-१० घर भएका ३५ वर्षीय सन्तविर घिमिरेलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक अङ्गुर जिसीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “पक्राउ परेकाले कम्तीमा पनि एक हजारभन्दा धेरै व्यक्तिहरुबाट रु दुई करोड ५० लाखभन्दा बढी रकम ठगी गरेको अनुसन्धानबाट खुल्न आएकाले हामीले पक्राउ गरेका छौँ ।”

रेशम रावलले काठमाडौँ कोटेश्वर र तिनकुनेमा सञ्चालन गरेका युनिक, वर्ल्डवाइड तथा रियान्स कन्सलटेन्सी, ग्लोबल ह्युमन रिसोर्सेस म्यानेजमेन्ट कम्पनी र रावल ट्राभल एण्ड टुर्सबाट पोल्याण्ड, पोर्चुगल, फ्रान्स, माल्टा, रोमानिया, क्रोएसियालगायतका देशहरूमा वैदेशिक रोजगारी तथा भिजिट भिसामा पठाउने भन्दै गैरकानूनी रुपमा कागजात, रकम सङ्कलन गरेको अनुसन्धानबाट खुल्न आएको सूचना अधिकारी जिसीले बताउनुभयो ।

प्रहरीले उक्त कन्सलटेन्सीबाट दुई सय २० थान राहदानी बरामद गरेको जनाएको छ । पक्राउ परेकाहरुले विभिन्न सामाजिक सञ्जालमार्फत विभिन्न देशमा आकर्षक तलब भत्ता सेवा सुविधा पाइन्छ भनी झुट्टा विज्ञापन प्रचारप्रसार गर्ने गरेको, पीडितको सक्कल कागजपत्र लिएको र विदेश पठाउने काम नभएपछि उक्त कागजपत्र माग्न जाँदा पीडितलाई रु एक लाख ५० हजारदेखि रु दुई लाखसम्म रकम दिनु अनि मात्र डकुमेन्ट फिर्ता दिने भनी थर्काउने गरेको आरोप छ ।

विभिन्न होटल, कृषि फार्म, विद्यालय आदिको स्ट्याम्प प्याड प्रयोग गरी झुट्ठा कागजात बनाइदिने गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको सूचना अधिकारी जिसीले जानकारी दिनुभयो ।


३१ जेठ २०८१, बिहीवार १९:४३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु