बाजुराको कोल्टीमा विशेषज्ञसहितको स्वास्थ्य शिविर सञ्चालन

बाजुरा । बुढीनन्दा नगरपालिकाको कोल्टी आधारभुत अस्पतालमा निस्शुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।
बुढीनन्दा नगरपालिका, एक–एक पाइला नेपाल र गेटा आँखा अस्पताल धनगढीको संयुक्त आयोजनामा तीन दिने निःशुल्क शिविर बिहीबारबाट सञ्चालन गरिएको हो ।
शिविरमा आँखा, नाक, कान, घाँटी र दन्त रोग सम्बन्धी निशुल्क सल्यक्रिया र विशेषज्ञ सेवा सहितको उपचार प्रदान भएको नगर प्रमुख जनककुमार बोहराले जानकार दिए । छोटो समयको शिविरले पनि विपन्न समुदायका नागरिकलाई उपचारमा ठूलो राहात भएको उनले बताए ।
आर्थिक अभावले उपचारका लागि सुविधा सम्पन्न ठाउँमा जान नसकी रोग पालेर घरमै बसेका नागरिकलाई सहज बनाउन शिविर सञ्चालन गर्ने गरिएको बताएका नगर प्रमुख बोहराले बताए ।
पहिलो दिन बिहीबार विभिन्न रोगका ७ सय ९८ जनाले स्वास्थ्य परिक्षण संगै उपचार सेवा पाएका बुढीनन्दा नगरपालिकाका स्वास्थ्य संयोजक ओमजङ्ग शाहीले बताए। उनका अनुसार शिबिरमा अन्य रोगका बिरामी भन्दा आँखा रोगका बिरामीले सेवा पाएका छन् ।
दन्तरोग सम्बन्धी नाम दर्ता भएका १ सय २४ जनामध्ये ५० जनाको दाँत निकालिएको र अन्य ७४ जना बिरामीलाई सामान्य उपचारसहित औषधि वितरण गरिएको छ ।
त्यस्तै नाक, कान र घाँटी रोग सम्बन्धीका २ सय २ जना बिरामीमध्ये कान रोगका ७ जना विरामीको सफल सल्यक्रिया भएको नगरपालिकाले जनाएको छ। अन्य विरामीको चेकजाँच पछि औषधि प्रदान गरिएको छ । शिविरमा छिमेकी जिल्ला हुम्ला, मुगु र कालिकोटका स्थानीय पनि उपचारका पुगेका छन् ।
११ जेठ २०८१, शुक्रवार १५:५६ बजे प्रकाशित