बझाङमा भइरहेको उपनिर्वाचनमा मतदान सुरु
धनगढी । बझाङ (१ ) मा निर्धारित समय अनुसार आज बिहान ७ बजे मतदान सुरु भएको छ ।
उपनिर्वाचन हुने प्रदेश सभा निर्वाचन क्षेत्र (१) का ७४ वटै मतदान स्थल र ९३ मतदान केन्द्रमा मतदान सुरु भएको हो ।
सो क्षेत्रको चुनावमा सात वटा पालिका ४९ र थलारा गाउँपालिकाको वडा नम्बर ९ सहित ५० वडाका मतदाता सहभागी हुने छन् ।
सात वटा पालिकामा जय पृथ्वी नगरपालिका ११, मष्टा ७, तलकोट ७, साइपाल ५, सूर्मा ५, छविसपाथिभरा ७, खप्तड छान्ना गाउँपालिकामा ७ वडा रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख, प्रहरी नायव उपरीक्षक भरतबहादुर शाहका अनुसार ६१ हजार ७४८ मतदाता रहेको सो क्षेत्रमा ६० प्रतिशत भन्दा बढी मत खस्ने अनुमान गरिएको छ ।
मतदान शान्तिपूर्ण बनाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका टोली खटिएको प्रहरी नायव उपरीक्षक शाहले बताए । उनका अनुसार शनिवार नै सबै मतदान केन्द्रबाट मतपेटिका सदरमुकाम चैनपुर ल्याइने छ ।
साइपाल गाउँपालिका लगायतका विकट क्षेत्रबाट भने मतपेटिका हेलिकोप्टरबाट ल्याइने भएको छ ।
सो क्षेत्रबाट निर्वाचित नेपाली काँग्रेसका प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको गत वर्ष सडक दुर्घटनामा मृत्यु भएको पछि सो क्षेत्रमा उपनिर्वाचन हुन थालेको हो ।
सो क्षेत्रमा नेपाली काँग्रेसले स्व. सिंहको जेठा छोरा अभिषेकबहादुर सिंह, नेकपा (एमाले) ले दमन भण्डारी, नेकपा (माओवादी केन्द्र ) का जनक बुढा र नेकपा (एकीकृत समाजवादी) का दिलबहादुर सिंहलगाय ११ जना उम्मेदवार छन् ।
१५ वैशाख २०८१, शनिवार ०८:१० बजे प्रकाशित































