भारतीय विदेश मन्त्री जयशंकर दुई दिने नेपाल भ्रमणका लागि आज काठमाडौँ आउँदै,यस्तो छ भ्रमण तालिका
काठमाडौँ । भारतीय विदेश मन्त्री एस.जयशंकर दुई दिने नेपाल भ्रमणकालागी आज (बिहीबार) काठमाडौँ आउँदैछन् । परराष्ट्रमन्त्री एनपी साउदको निमन्त्रणमा नेपाल–भारत संयुक्त आयोगको बैठकमा भाग लिन विदेशमन्त्री जयशंकर आज बिहान १० बजे नेपाल आइपुग्ने कार्यक्रम रहेको छ ।
काठमाडौँ अवतरण गरेलगत्तै विदेशमन्त्री जयशंकर ११ बजे राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवास जानेछन् । त्यहाँबाट फर्केपछि मध्यान्ह १२ बजे प्रधानमन्त्री प्रचण्डसँग बालुवाटारमा भेटघाट गर्ने छन् ।
त्यसलगत्तै १ बजे परराष्ट्र मन्त्री साउदसँग होटल याक एण्ड यतिमा भेटघाट गरेपछि उनी सवा एक बजेदेखि संयुक्त आयोगको बैठकमा सहभागी हुनेछन् । पौने २ बजे दुई देशबिच १० हजार मेगावाट बिजुली खरिद सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम छ ।
उनी २ बजे परराष्ट्र मन्त्रालयले याक एण्ड यतिमा आयोजना गर्ने दिवा भोज कार्यक्रममा सहभागी हुने बताइएको छ । विदेशमन्त्री जयशंकरले ३ बजेर ४० मिनेटमा कांग्रेसका सभापति शेरबहादुर देउवा र साढे चार बजे एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गर्नेछन् ।
साँझ ६.१५ बजे परराष्ट्र मन्त्रालयले सोल्टी होटलमा गर्ने रात्रि भोजमा विदेशमन्त्री जयशंकर लगायत नेपालका नेता, सांसद र सरकारी अधिकारीहरूको उपस्थिति रहनेछ ।
पुस २० गते बिहान ८ बजे उनले पशुपतिको दर्शन गर्नेछन् भने ९ बजे पुस्तकालय उद्घाटन गर्नेछन् । त्यसपछि उनले त्यहाँ पुनः निर्माणका कामहरू हेर्ने कार्यक्रम रहेको छ ।
त्यसलगत्तै विदेशमन्त्री जयशंकर मध्यान्ह १२ बजे भारत फर्किनेछन् ।
१९ पुस २०८०, बिहीवार ०५:५१ बजे प्रकाशित













