प्लान्ट क्वारेन्टाइन सञ्चालन गर्ने व्यवसायीको माग
कैलाली उद्योग वाणिज्य संघले कैलाली भन्सार कार्यालयमा प्लान्ट क्वारेन्टाईनको टुर मुकाम सञ्चालन र स्थायी कार्यालय स्थापना गर्न माग गरेको छ। उद्योग वाणिज्य संघले धनगढीमा आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै उद्योगी व्यवसायीले सो माग गरेका हुन्।
उद्योग व्यवसायीहरूले सङ्घीय सरकारको अस्पष्ट नीतिका कारण उद्योगी, व्यवसायीका साथै आम उपभोक्ता आर्थिक मारमा परेको र थप अन्यौलता सिर्जना भएको संघका वरिष्ठ उपाध्यक्ष पुष्कर ओझाले बताए। उनले व्यवसायी र उपभोक्ता राज्यको अस्पष्ट नीतिका कारण खाद्य योग्य, पशुपक्षी आहारका लागी चाहिने कच्चा पदार्थ र खाद्य बस्तुमा भोग्नुपर्ने, मूल्य वृद्धि तथा अभावले दैनिकीलाई प्रभावित पारेको बताए।
कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले नजिकै आउँदै गरेको दशैँ दीपावली तथा छठ लगायतका चाडबाड महँगिने बताए । सहजीकरणका लागी प्लान्ट क्वारेन्टाइन तथा विषादी अन्वेषण केन्द्र काठमाण्डौँमा फोन गर्दा कैलाली नाकालाई अवैधानिक नाकाको रूपमा व्याख्या गर्ने र अमर्यादित शैलीमा अव्यवहारिक जवाफ फर्काउने र सुदूरपश्चिमप्रति संघ सरकारले गर्ने व्यवहार फरक रहेको बताए । साथै विज्ञप्ति मार्फत उनले चाडवाडको मुखमा बस्तुको अभाव सृजना हुने र सामाजिक सद्भाव समेत असर पार्ने अवस्था आउन सक्ने बताए।
यस्तो सम्भावनालाई निरुत्साहित गर्न संघले सरकारलाई आ आफ्नो नीतिमा यथाशीघ्र पुनरावलोकन गर्न र सो बाट सृजना हुने व्यवसायी असहज परिस्थिति र अवस्थाको जिम्मेवार सरकार आफै हुनुपर्ने जानकारी दिए ।
कैलालीको त्रिनगर भन्सार नाकामा रहेको प्लान्ट क्वारेन्टाइन कार्यालय कर्मचारीविहीन भएपछि भारतबाट आउने खाद्यान्न, तरकारी र फलफूलको आयात ठप्प भएको छ । २२ दिनदेखि खाद्यान्न, तरकारी र फलफूल नआएको कैलाली भन्सार कार्यालयले जनाएको छ। प्लान्ट क्वारेन्टाइन कार्यालयले नेपाल आयात हुने खाद्यान्न,तरकारी र फलफूलमा किराजन्य संक्रमण चेकजाँच गर्छ।
खाद्य प्रविधिको जाँच गरेपछि प्लान्ट क्वारेन्टाइनले किराजन्य संक्रमणको जाँच गरेपछि मात्रै खाद्यान्न, तरकारी र फलफूलजन्य वस्तु नेपाल भित्रिने गर्छ ।सुदूरपश्चिमका लागि प्लान्ट क्वारेन्टाइनको मुख्य कार्यालय कञ्चनपुरको गड्डाचौकी नाकामा छ । गड्डाचौकी– बनबासा नाकाबाट सामान आयात गर्नका लागि भारतले शारदा नदीको पुलमा बढी भार भएका मालवाहक साधन आउन दिँदैन ।
उता नेपालगन्जको रुपैडिहा नाका भएर आयात गरे प्रदेशको राजश्वमा पनि कमी आउने र खाद्यान्न, तरकारी र फलफूलको मूल्य पनि बढ्ने व्यवसायीहरूले बताएका छन् । ‘प्लान्ट क्वारेन्टाइनमा २२ दिनदेखि प्राविधिक नहुँदा नेपालगन्जको नाका प्रयोग गर्नुपर्छ। त्यहाँबाट किलोमा १० रुपैयाँ ढुवानी खर्च बढ्छ ।
कैलाली भन्सार कार्यालयले पनि यस नाकाबाट आयात हुने मुख्य वस्तु नै खाद्यान्न, तरकारी र फलफूल रहेको जनाएको छ । ‘मासिक २० करोडको राजश्व खाद्यान्न, तरकारी र फलफूलजन्य सामानबाट संकलन हुन्छ । तर २२ दिनदेखि यी सबैको आयात ठप्प भएको छ । सीमा नाकामा सरकारले प्लान्ट,पशु र खाद्य क्वारेन्टाइन कार्यालय खोलेको छ ।
प्लान्ट क्वारेन्इईनले खाद्यान्न, तरकारी र फलफूलमा भएको रोग तथा किरा परीक्षण गर्छ । सोही नाका हुँदै ठुलो परिमाणको तरकारी, फलफूल, चामल, दाल, बदाम, तोरी, पशु आहार, मकै र गहुँ भारत तथा तेस्रो मुलुकबाट समेत आयात हुने गरेको छ ।

१८ भदौ २०८०, सोमवार १६:३३ बजे प्रकाशित































