मनसुन देशभर फैलियो, बाढीपहिरोको जोखिम
जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन शुक्रबार देशभर पुगेको जनाएको छ। यस वर्षको मनसुन औसतभन्दा एक दिन ढिला गरी जेठ ३१ मा पूर्वी नेपालबाट प्रवेश गरेको थियो।
पहिलो दिनमै कोशीसँगै बागमती र मधेश प्रदेशको पूर्वी भूभागमा फैलिएको मनसुन कर्णाली र सुदूरपश्चिम पुग्न भने नौ दिन लागेको हो। देशभर मनसुन फैलिएको र सक्रिय अवस्थामा रहेकाले आगामी तीन दिन विभिन्न भूभागमा मेघ गर्जन र चट्याङ सहित वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
विभागको मौसम पूर्वानुमान महाशाखाले शुक्रबार विशेष बुलेटिन जारी गरी मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ। यी चारै प्रदेशका एक-दुई स्थानमा भने अत्यधिक वर्षा हुनसक्ने अनुमान गरेको छ।
मनसुन देशभर फैलिएसँगै बाढी, पहिरो, डुबान, भूक्षय तथा गेग्रान बहाव लगायतले सडक, हवाइ, कृषि, पर्यटन तथा स्वास्थ्य क्षेत्रमा प्रभाव पर्न सक्ने विभागले जनाएको छ। खराब मौसमका कारण हुन सक्ने जोखिम र क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि विभागले अनुरोध गरेको छ।
९ असार २०८०, शनिवार ०७:४४ बजे प्रकाशित































