धनगढीमा आचार्य बालकृष्णले भने -खप्तड स्वीजरल्याण्डभन्दा पनि सुन्दर छ

सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल भूस्वर्ग खप्तडमा आध्यात्मिक सम्मेलनको तयारी तीव्र बनेको छ । जेठ २३ देखि २५ गतेसम्म हुने सम्मेलनको तयारी तीव्र पारिएको हो ।
यसै क्रममा सम्मेलनमा सहभागि हुन पतञ्जलि योगपीठका महामन्त्री आचार्य बालकृष्ण धनगढी पुगेका छन् । उनले आफू सुदूरपश्चिमको विकास र कल्याणका लागि सदैव सोच्ने मान्छे भएको बताए । उनले खप्तड स्वीजरल्याण्डभन्दा पनि सुन्दर भएको दाबी गरे ।
यसको प्रचार र विकास गरिनुपर्ने उनको सुझाव छ । उनले भने , ‘खप्तड धेरै सम्भावना भएको ठाउँ हो । खप्तड स्विजरल्याण्डभन्दा सुन्दर छ । यहाँको प्रदेश सरकारले, नेपाल सरकारले खप्तडको विकासमा लाग्नुपर्छ, हामी पनि यसमा सहयोग गर्छौ ।’
पतञ्जलिले खप्तडलाई देश विदेशमा चिनाउन पहल गर्ने बताउँदै उनले खप्तडमा आफूले जडीबुटीको अन्वेषण पनि गर्ने बता । त्यसका लागि आफ्नो विज्ञ टोली खप्तड पुगिसकेको उनको भनाइ छ ।
त्यस्तै निकट भविष्यमै कैलाश मानसरोवर र खप्तडलाई आपसमा जोड्नुपर्ने उनले बताए । त्यसका लागि यहाँको सरकारलाई आफू सहयोग गर्न तयार रहेको बताए ।
खप्तडमा हुने सो सम्मेलनको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्घाटन गर्नुहुने कार्यक्रम तय भएको छ । भारतीय योगगुरु बाबा रामदेव, सङ्घीय र प्रदेश सरकारका मन्त्रीहरू, आध्यात्मिक क्षेत्रका प्रतिष्ठित व्यक्तित्वलगायत सम्मेलनमा सहभागी हुनुहुनेछ ।
सुदूरपश्चिम प्रदेश सरकार, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, नेपाल पर्यटन बोर्ड, खप्तड पर्यटन विकास तथा व्यवस्थापन समिति र स्थानीय तहले सम्मेलनको आयोजना गर्न लागेका हुन् ।
खप्तडबाबाले ५० वर्ष साधना गरेको खप्तडलाई पर्यटकीय हिसाबले ‘भर्जिन’ क्षेत्र मानिन्छ ।
२० जेठ २०८०, शनिवार २०:१० बजे प्रकाशित