रिहा भए रेशम चौधरी
काठमाडौं । टिकापुर घटनामा जन्मकैदको सजाय सुनाइएका रेशम चौधरी आममाफी पाएर रिहा भएका छन्।
गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएपछि चौधरी आज डिल्लीबजार कारागारबाट रिहा भएका हुन्।
उनलाई आठ जना सुरक्षाकर्मी र एक नाबालकको ज्यान गएको टीकापुर घटनाको योजनाकारको रूपमा तीनै तहका अदालतले जन्मकैदको सजाय सुनाएको थियो।
आइतबार बसेको मन्त्रीपरिषद बैठकले चौधरीको करिब १५ वर्ष कैद सजाय माफी गर्न सिफारिस गरेको थियो ।पाँच वर्ष तीन महिना जेल सजाय काटेका चौधरीको १४ वर्ष ९ महिना जेल सजाय छुट भएको हो ।
थरुहट र अखण्ड सुदूरपश्चिमको आन्दोलन क्रममा २०७२ भदौं ७ गते टीकापुरमा हिंसात्मक घटना भएको थियो ।
उक्त घटनामा तत्कालीन सेती अञ्चल प्रहरी प्रमुख एसएसपी लक्ष्मण न्यौपानेसहित ८ प्रहरी र एक बालकको मृत्यु भएको थियो ।
१५ जेठ २०८०, सोमवार १०:३७ बजे प्रकाशित













