खाँणको मोेबाइलमा भेटिएन नक्कली शरणार्थीसँग सम्बन्धित कुनै सूचना
काठमाडौं । पूर्वगृहमन्त्री बालकृष्ण खाँणको मोबाइलमा डिलिट गरिएका सबै डाटा रिकभर गर्दा पनि प्रहरीले नक्कली शरणार्थीसँग सम्बन्धित कुनै सूचना भेटेन। खाँणलाई वैशाख २७ गते पक्राउ गर्नासाथ प्रहरीले मोबाइल कब्जामा लिई सम्पूर्ण डाटा रिकभर गर्न डिजिटल फरेन्सिक ल्याब पठाएको थियो। रिकभर गर्दा पनि शरणार्थीसँग सम्बन्धित कुनै विवरण नभेटेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
खाँणले पक्राउ पर्नुअघि मोबाइलमा महत्वपूर्ण सूचना उडाएर रिसेट गरेको प्रहरीको आशंका थियो। सरकारी वकिल कार्यालयको बयानमा उनलाई ‘मोबाइल किन रिसेट गर्नुभएको भनी सोधिएको थियो। स्रोतका अनुसार, प्रत्युत्तरमा उनले भनेका थिए, ‘म प्रविधिका बारे त्यस्तो जानकार छैन। मैले रिसेट पनि गरेको छैन।’
त्यसअघि सचिव टेकनारायण पाण्डेको मोबाइल प्रहरीले फरेन्सिक ल्याबमा पठाई रिकभर गराएको थियो। त्यसबाट प्राप्त विवरणका आधारमा अन्य अभियुक्त समातिएका थिए।
९ जेठ २०८०, मंगलवार ०६:५६ बजे प्रकाशित












