पूर्व राजाले सोधे -के नयाँ नेपाल भनेको यहि हो ?
पूर्व राजा ज्ञानेन्द्र शाहले नेपालीलाई शरणार्थी बनाउँदा देशको इज्जत गएको टिप्पणी गरेका छन् । अमेरिका पठाउने भन्दै नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएको बिषय उल्लेख गर्दै यस्तो गतिविधिले देशको इज्जत र गौरव लोप भएको बताएका हुन् ।
धनगढीमा नागरिक अभिनन्दन समारोहमा उनले भने, ‘नेपाली जनतालाई आफ्नो भूभाग र आफ्नो राष्ट्रिय अस्तित्व हुँदा हुँदै शरणार्थी बनाएर अर्काको देशमा श्रम पसिना बगाउन पठाएर आज जे हर्कत गरिरहेका छन्, त्यसबाट हाम्रो इज्जत र गौरव सबै लोप भएर गएको छ । ’
देशभित्रै बसौँ भन्ने भावना हराउँदै गएको छ भन्दै पूर्व राजाले साधे ‘के नयाँ नेपाल भनेको यहि हो । के नेपालको आफ्नो अस्तित्व छैन ?’नेपालीहरूको र श्रम सिप खोसिँदै गएको भन्दै उनले भने , ‘यस्तो देख्दा हाम्रो आँखा रसाउँदै गएका छन् । ’
पूर्व राजा शाहले विकास र प्रविधीको युग भएको र आफ्नै श्रम र साधनले मुलुकको उन्नति सम्भव हुने टिप्पणी गरेका थिए ।
‘अब सोच्ने बेला आएको छ । अब कुन, के, कस्तो, राष्ट्रिय दृष्टिकोण हामीले लिने रु कस्तो प्रणाली, पद्धती र परिपाटी हामीले अङ्गाल्ने ’ उनले भने ‘सोचौँ गहिरिए सोचौ । अझै दिलै देखि सोचौँ । नेपाली भएर सोचौँ । नेपाल आमाको हावा पाटी माटो र मुटुलाई छोएर सोचौँ । देश भन्दा ठुलो केही हुँदैन । ’
पूर्व राजाले वर्तमान राजनैतिक परिपाटीले देशको हित नहुने सङ्केत गरेका थिए ।
‘आजको टट्कारो अवस्थालाई नदेखेको र नबुझेको जस्तो गरेर,कुरा बटारेर अरूलाई अलमलाएर र निषेध गरेर , कोठे र ओठे जवाफ फर्काएर नेपाल र नेपालीको भविष्य सप्रिँदैन ’ उनले भने, ‘भोलिको सुन्दर सपनालाई साकार गर्न र बिपना बनाउन नेपाली मत मान्यता तथा मनोभावना अनुसार नेपाली जनतालाई नै जिम्मा दिऊ यसैमा हाम्रो कल्याण छ । ’
‘राष्ट्रिय सोच र राष्ट्रिय चिन्तन कम भएको प्रति उनले चिन्ता व्यक्त गरेका थिए । यो हामी सबैको निम्ति सुखद होइन ’ उनले भने, ‘हाम्रै आँखा अगाडी देखेको र स्वयम अनुभूत गरेको कुरा हो । ४ दशक अघि सम्म हाम्रो देश कृषि वन आदि कतिपय बिषयमा आत्मनिर्भर थियो । आफ्नो आवश्यक्तालाई परिपूर्ण गरेर हामी धान चामल निर्यात गर्दथ्यौँ । ग्रामीण तथा सहरी कलकारखाना साना लघु उद्योग धन्दाहरू कता बिलाए, किन हराए । ’
जल जमिन जङ्गल जडिबुटी र जनस्तरिय सीप सबैतिर उजाड बन्दै गइरहेको उनको टिप्पणी थियो । उनले नेपाली जनतालाई झुक्काउनेहरुको प्रपञ्च खुल्दै गइरहेको समेत बताएका थिए ।
उनले भने, ‘हिजोका आग्रह र पौरखी पुस्ताहरूलाई श्रेय दिएर सम्झना गर्ने कि नगर्ने । यस्ता थुप्रै प्रश्नहरू तपाइ हामी सामु छन् । सोझो साझा जनता झुक्काउँदै आफ्नो स्वार्थ सिद्ध गर्ने आजको प्रपञ्च अब खुल्दै गएको छ । ’
८ जेठ २०८०, सोमवार १८:२० बजे प्रकाशित














