आइपिएलमा राजस्थानविरुद्ध पुछारको हैदराबादको रोमाञ्चक जित
भारतमा जारी इण्डियन प्रिमियर लिग आइपिएल अन्तर्गत गएराति सम्पन्न खेलमा राजस्थान रोयल्सविरुद्ध सनराइजर्स हैदराबादले ५ रनको रोमाञ्चक जित निकालेको छ । राजस्थानले दिएको २ सय १५ रनको लक्ष्य हैदराबादले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर भेट्टायो ।
अन्तिम ओभरमा हैदराबादलाई जितका लागि १७ रन आवश्यक थियो । यो ओभरको पहिलो बलमा अब्दुल समदले २ रन जोडे । दोस्रो बलमा छक्का हिर्काएका उनले तेस्रो बलमा २ रन लिए । चौथो बलमा १ रन जोड्दै उनले मार्को जेन्सनलाई स्ट्राइक दिए ।
पाँचौं बलमा जेन्सनले १ रन जोडेपछि राजस्थानले जितको खुसीयाली मनाइरहेको थियो । तर, अम्पायरले छैटौँ बल ‘नो बल’ भएको संकेत गरे । नो बलमा अब्दुलले छक्का हिर्काउँदै हैदराबादलाई जित दिलाए ।
उनले ७ बलमा २ छक्कासहित अविजित १७ रन बनाए । ‘प्लेयर अफ द म्याच’ घोषित भएका ग्लेन फिलिप्सले ७ बलमा ३ छक्का र १ चौकाको मद्दतमा २५ रनको महत्वपूर्ण पारी खेले ।
२५ वैशाख २०८०, सोमवार ०७:२४ बजे प्रकाशित






























