भारतको सिनियर टिमलाई हराउने नेपालको लक्ष्य
नेपालले एसीसी इमर्जिङमा भारतसँग खेल्न पाउनु नेपालका लागि नौलो होइन । उमेर समूहमा नेपालले यसअघि भारतलाई हराइसकेको छ । यो प्रतियोगितामा पनि नेपालले भारतलाई हराउन सक्छ ।
तर नेपालको लक्ष्य त एसिया कपमा भारतलाई हराउनु हो । यूएईलाई हराएर एसिया कपमा छानिनुपूर्व नै यो परिकल्पमा गर्नु मुर्ख्याइँ भए पनि लक्ष्य बिनाको खेलको पनि मजा हुँदैन ।
सोमबार वर्षा भए मंगलबार रिजर्भ डे मा खेल खेलिन्छ । त्यसमा पनि निर्धारित ५० ओभरको खेल सम्भव भएन भने सुपर ओभर खेलिन्छ । सुपर ओभर पनि जम्मा दुई ओभरसम्म खेल्न सकिन्छ । त्यसबाट पनि नतिजा नआए समूह चरणमा आएको नतिजाको आधारमा एक टिमले उपाधि जित्नेछ ।
विश्वकप लिग २ को नतिजा र अहिलेको नेपालको बढेको मनोबलले नेपालले यूएईसँग हार्ने कहीँ कतै पनि सम्भावना छैन । त्यसबाहेक हुन सक्ने सम्भावनालाई थाँतीमा राखेर हेर्ने हो भने नेपालले यसपालि एसिया कप खेल्नेछ र भारतलाई हराउने छ ।
नेपालले यसअघि सिनियरतर्फको एसिया कप खेलेको छैन । तर यसपालि खेल्न पायो भने भारतलाई हराउने ल्याकत नेपालले राख्नेछ । किनकि नेपालले भारतलाई यू–१९ एसिया कपमा हराइसकेको छ ।
मलेसियाको क्वालालम्पुरमा सन् २०१७ को नोभेम्बर १२ तारिखमा भएको एसीसी यू–१९ एसिया कपमा नेपालले भारतलाई १९ रनले हराएको थियो ।
खेलमा पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा १८५ रनमात्र बनाएको थियो । नेपालका लागि कप्तान दिपेन्द्र सिंह ऐरीले १०१ बलमा ८८ रन बनाएका थिए । त्यस्तै ओपनर जितेन्द्र ठकुरीले ३६ रन बनाएका थिए । भीम सार्कीले १५ रन बनाएको इनिङ्समा त्यसबाहेक कसैले दोहोरो स्कोर खडा गरेनन् ।
जवाफी ब्याटिङमा उत्रेको भारत ४८।१ ओभरमा सबै विकेट गुमाएर केबल १६६ रनमात्र बनाउन सक्यो
नेपालका लागि दिपेन्द्रले अलराउन्ड प्रदर्शन गर्ने क्रममा १० ओभरमा २ मेडन राख्दै ३९ रन खर्चेर ४ विकेट लिए । उनले दुई वटा क्याचसमेत लिएका थिए ।
पवन सर्राफ र शहाब आलमले २–२ तथा सन्दीप लामिछाने र कमल ऐरीले १–१ विकेट लिएका थिए ।
नेपालको अहिलेको सिनियर टोलीमा तिनै भारतलाई हराउने त्यो अन्डर–१९ टोलीका सदस्यहरु ऐरीसहित, आशिफ शेख, रोहित पौडेल, भीम सार्की, सन्दीप लामिछाने रहेका छन् । रोहितले कप्तानी गरिरहेका छन् ।
त्यतिबेला यू–१९ टिमको भारतीय टिमका मुख्य प्रशिक्षक थिए राहुल द्रविड । द्रविडले त्यतिबेला नेपाली टोलीसम्म पुगेर बधाइ दिएका थिए ।
तिनै द्रविड अहिले भारतको सिनियर टिमका मुख्य प्रशिक्षक छन् । नेपालले एसिया कप खेल्न पाउँदा द्रविड पनि एकपटक अवस्य झस्कने छन् । किनकै उनकै पालामा नेपालले भारतलाई हराएको थियो ।
१८ वैशाख २०८०, सोमवार ०६:१७ बजे प्रकाशित































