अयोग्य लडाकुलाई दुई लाख दिने सरकारको निर्णयमा अर्थमन्त्री नै बेखबर
अर्थमन्त्री डा.प्रकाशशरण महतले अयोग्य लडाकुलाई दुई लाख दिने मन्त्रीपरिषद्को निर्णयबारे अनविज्ञ रहेको बताए । शुक्रवार राष्ट्रिय युवासंघले अयोग्य लडाकुलाई दुई लाख रुपैयाँ दिने सरकारको निर्णयविरुद्धको ज्ञापनपत्र बुझ्दै अर्थमन्त्री डा। महतले यस्तो बताएका हुन् ।
उनले पैसा बाड्ने कार्यविधि मन्त्रीपरिषद्ले पास गरेर अगाडि बढाउनेबारे मलाई जानकारी नभएको पनि बताए । उनले आफू अर्थमन्त्री भएपश्चात अर्थ मन्त्रालय र मन्त्रीपरिषद्ले अयोग्य लडाकुलाई दुई लाख दिने निर्णय नगरेको स्पष्ट पारे । अयोग्य लडाकुलाई दुई लाख दिने निर्णय अर्थमन्त्रीले गरेको भन्ने समाचार बाहिर आएको भएपनि आफू अर्थमन्त्री भएपछि यस्तो खालको निर्णय अर्थ मन्त्रालयमा नभएको उनका भनाइ थियो ।
बजेटमा व्यवस्था भएअनुसार त्यसको कार्यविधि गृह मन्त्रालयले बनाउने भएकाले गृहले कार्यविधि बनाउने विषय जानकारीमा आएको उनले बताए ।
‘अयोग्य लडाकुको विषय धेरै अगाडिदेखि अदालतसम्म पुगेको विषय हो । त्यसबाट पनि एउटा निर्णय भएर आयो । यसअघिको बजेटमा पनि व्यवस्था भएको छ । त्यो बेलामा म थिएन । यो विषयमा अगाडि बढाउने सन्दर्भमा मैले निर्णय गरे भनेर कतिपय मिडियामा आयो । म अर्थमन्त्री भएर आएपछि यस्तो खालको निर्णय अर्थमन्त्रालयमा भएको छैन । मलाई जानकारी भएसम्म अयोग्य लडाकुलाई पैसा बाँड्ने भन्ने विषय आएको थिएन । पैसा बाँड्ने कार्यविधि मन्त्रीपरिषद्ले पास गरेर अगाडि बढाउनेबारे मलाई जानकारी छैन’ उनले भने ।
अर्थमन्त्री डा.महतले सरकार अनावश्यक खर्च गर्ने, नचाहिने ठाउँमा राज्यको ढुकुटी खर्च गर्ने, भ्रष्टाचार गरी बेथिति गर्ने कुनैपनि काम सरकारबाट नहुने बताए ।
१५ वैशाख २०८०, शुक्रवार १४:४३ बजे प्रकाशित






























