डडेल्धुरामा सहिद भीमदत्त पन्त स्मृति पुस्तकालय शिलान्यास

किसान नेता भनेर चिनिने सहिद भीमदत्त पन्त स्मृति पुस्तकालय निर्माण गर्न उनको जन्मथलोमा शिलान्यास गरिएको छ । डडेल्धुरा अमरगढी नगरपालिका– २, कारिगाउँमा सहिद भीमदत्त पन्त स्मृति पुस्तकालय शिलान्यास गरिएको हो ।

२० लाख रुपैयाँ लागतमा पुस्तकालय भवनको सहिद पन्तको जन्मघर रहेको कारिगाउँमा नै शिलान्यास गरिएको हो ।  नेपाली कांग्रेसका नेता एवम् सुदूरपश्चिम प्रदेशका पूर्वसामाजिक विकासमन्त्री गोविन्दराज बोहराले पुस्तकालयको शिलान्यास गरेका हुन् । सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयले उक्त पुस्तकालयका लागि रकम छुट्टयाइएको र भवन बनाउन शिलान्यास गरिएको वडा अध्यक्ष हेमराज पन्तले बताए ।

सामाजिक मन्त्रालयले १५ लाख रुपैयाँ थप रहेकाले उक्त रकमले पुस्तकालय भित्र ई–लाइब्रेरी बनाउने योजना रहेको वडा अध्यक्ष पन्तले जानकारी दिए । सहिद पन्तको सम्झनामा पुस्तकालय निमार्ण गर्न लागेको उनको भनाइ छ ।

कुनै पनि क्रान्ति होस् वा आन्दोलन होस् त्यसका लागि शिक्षा जरुरी रहेको छ भन्ने शिद्धान्त सहिद पन्तको थियो । उनले भने, ुसहिद पन्तको सिद्धान्तलाई आत्मसात गर्न पुस्तकालय निर्माणको प्रक्रिया थालिएको हो । ु

अन्याय सामाजिक भेदभाव सहन नसक्ने भीमदत्त पन्तले २००७ सालदेखि आन्दोलनको सुरुवात गरेको इतिहास छ । गरिब दलित जनजाती किसानलाई संगठित गरी राणा विरोधी आन्दोलनमा समेत भीमदत्त पन्तको ठूलो भूमिका रहृयो । आन्दोलनकै बेला उनले अमरगढी–२ कै बिरखममा संस्कृत विद्यालयको स्थापना गरेको कुरा उनको प्रकाशित जीवनीमा उल्लेख गरिएको छ । सोहि विद्यालय अहिले त्रिपुरासुन्दरी आधारभूत विद्यालयका रुपमा स्थापित भइ सञ्चालनमा छ ।

उनको जीवनी र शिक्षाप्रतिको लगावबाट समाज रुपान्तरणका लागि पुस्तकालय स्थापना गर्न लागिएको पूर्वसमाजिक विकासमन्त्री बोहराले बताए ।


९ चैत २०७९, बिहीवार १८:११ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु