धनगढीका पत्रकार ऐरमाथि साङ्घातिक आक्रमण, दोषीलाई कारबाहीको माग
धनगढीका पत्रकार शेर बहादुर ऐरमाथि साङ्घातिक आक्रमण भएको छ।
शनिवार राति ९ बजे धनगढीको रुबस होटेलमा उनीमाथि आक्रमण भएको हो । धारिलो हतियारले उनीमाथि प्रहार हुँदा उनको टाउकोमा गहिरो चोट लागेको छ ।
पत्रकार ऐर माथि भएको आक्रमणलाई लिएर अहिले चौतर्फी आलोचना भइरहेको छ । धनगढी खबरसँग आबद्ध ऐरले पछिल्लो केही दिन देखी मेडिकल माफिया र अवैध फार्मेसीका विरुद्ध निरन्तर समाचार लेखिरहेका थिए । सोही विषयलाई लिएर आक्रमण गरिएको हुन सक्ने आकलन गरिएको छ ।
गए राति रुबस होटेलमा अस्पताल संचालक, फार्मेसी संचालक लगायतको जमघट समेत रहेको थियो । सोही ठाउँमा घटना भएको थियो ।
पत्रकार माथि भएको घटनाका विरुद्ध विभिन्न सङ्घ सङ्गठनले भर्सन गर्दै दोषी माथि कारबाहीको माग गरेका छन्।
‘अनियमितता,अख्तियारको दुरुपयोग, गैर कानुनी कार्य र ज्यादतीका विरुद्ध निडर भएर कलम चलाउने पत्रकार माथि होटेलमा सुनियोजित रुपमा आक्रमण भएको छ दोषीलाई हदैसम्म कारबाही होस कारबाहीको दायरामा दोषीलाई तुरुन्तै ल्याइयोस् ।’ प्रेस युनियन कैलालीका अध्यक्ष श्रवण देउवाले भने ।
प्रेस चौतारी नेपाल, कैलालीका अध्यक्ष भानुभक्त आचार्यले पनि पत्रकार माथि यस किसिमका घटना घट्नु निन्दनीय भएको बताएका छन् । उनले दोषिलाई पक्राउ गरि कारबाहीको माग गरेका छन् ।
अहिले प्रहरीले घटनाको छानबिन भइरहेको बताएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कुलदेव चन्दका अनुसार प्रहरी निरीक्षकको टोली उक्त घटनाको अनुसन्धानमा खटिएको छ ।
होटेलमा देखिएको सिसी टिभी फुटेज हेरेर प्रहरीले थप अनुसन्धान गर्ने बताएको छ ।
२८ फागुन २०७९, आइतवार ०८:५१ बजे प्रकाशित































