punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिममा भोली विश्वासको मत दिन नागरिक उन्मुक्ति लचक, यस्तो छ पावर सेयरिङको खाका

Chaupati
safha napa

सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले भोली विश्वासको मत लिने भएका छन् । रावलले विश्वासको मत लिने विषयमा प्रदेश सभा सचिवालयलाई जानकारी समेत गराइसकेका छन् ।
पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका रावलले २६ गतेभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता छ । विश्वासको मत लिइसक्नु पर्नु संवैधानिक व्यवस्था भएको अघिल्लो दिन मुख्यमन्त्री रावलले विश्वासको मत लिन लागेका हुन् ।

माओवादी केन्द्र, नेकपा एमाले, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका एमाले संसदीय दलका नेतासमेत रहेका रावल आफूले विश्वासको मत पाउनेमा विश्वस्त छन् ।

‘सर्वोच्च अदालतले टीकापुर घटनाको बिषयमा उहाँहरूकै अपेक्षाअनुसार प्रत्यर्थी झिकाउने आदेश भएपछि वातावरण सहज बनेको छ ’ एमाले प्रदेश सचिव तथा प्रदेश सभा सदस्य धर्मराज पाठक भन्छन्, ‘उहाँहरूको माग सम्बोधन गर्न सरकार दृढ रहेको पुष्टि भइसकेको छ । उहाँहरूले विश्वासको मत दिनुहुन्छ ।’

सुदूरपश्चिम प्रदेशमा सत्ता गठबन्धनमा माओवादीका ११ (सभामुख सहित), एमालेका १०, नागरिक उन्मुक्तिका ७ र राप्रपाका १ सांसद छन् । यी दलले विश्वासको मत दिए मुख्यमन्त्री रावलले २८ मत पाउँछन् । (सभामुखले मत दिन नपाउँदा) २७ मत पाउँदा विश्वासको मत प्राप्त हुन्छ । नागरिक उन्मुक्ति पार्टी विश्वासको मत दिन लचक भएपनि अहिले सम्म निर्णय भने गर्न सकेको छैन । उनीहरुले पावर सेयरिङमा असन्तुष्टि व्यक्त गरिरहेका छन् ।

पावर सेयरिङको खाका
सुदूरपश्चिम प्रदेशमा अहिले एमालेबाट मुख्यमन्त्री राजेन्द्रसिंह रावल एमालेकै सन्तोष शर्मा थापा र माओवादी खगराज भट्ट मन्त्री छन् । थापा र भट्टले अहिले सम्म पनि मन्त्रालयको जिम्मेवारी पाउन सकेका छैनन् ।

सत्ता गठबन्धनको घटक रहेको नागरी उन्मुक्तिसँग पावर सेयरिङमा कुरा मिलेपछि दुई मन्त्रीलाई जिम्मेवारी दिने मुख्यमन्त्रीको योजना रहेको स्रोतको दाबी छ ।

केही दिन अघि काठमाडौँमा भएको छलफलमा ६ मन्त्रालयलाई तीन दललाई बराबर बाँड्ने बिषयमा एक चरणको बहस भएको पाइएको छ । मुख्यमन्त्री बाहेक अन्य ६ मन्त्रालयमा एमालेका २, माओवादीका २ र नागरिक उन्मुक्तिका २ जनालाई मन्त्री बनाउने बिषयमा एमालेका अध्यक्ष केपी ओली र प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग छलफल भएको थियो ।
राज्य मन्त्री पनि बराबर हुने गरि बाँड्ने गरि छलफल भएको स्रोतको दाबी छ ।

माओवादी र नागरिक उन्मुक्तिले पनि ३ ÷३ मन्त्रालय दाबी गरे पनि पावर सेयरिङमा दुबैलाई २÷२ मन्त्रालय र नागरिक उन्मुक्तिलाई प्रदेश प्रमुख समेत दिने गरि छलफल भएको थियो । काठमाडौँमा भएको छलफल करिब सहमतिमा पुगेको स्रोतको दाबी छ ।

बिषयगत समितिमा पनि भागबन्डा गर्ने गरि छलफल भएको छ । काठमाडौँमा भएको छलफलले सार्थक पाएको हुँदा भोली एमाले संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत पाउने सत्ता गठबन्धनकै नेताहरूले दाबी गरेका छन् ।


२४ माघ २०७९, मंगलवार ०८:०२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु