ओलीको सन्देश बोकेर रेशम भेट्न कारागार पुगे बोहरा, विश्वासको मतमा जुट्यो त सहमति ?
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारलाई विश्वासको मत दिने विषयमा नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी सकारात्मक भएका छन् ।
डिल्लीबजार स्थित कारागारमा चौधरीले विश्वासको मत दिने बिषयमा सकारात्मक भएको धारण एमाले नेता झपट बोहरालाई सुनाएका हुन् । नागरिक उन्मुक्ति पार्टीका सांसद तथा नेताहरूले काठमाडौँमा प्रधानमन्त्री समेत रहेका माओवादी अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीलाई भेटेर रेशम रिहाका लागि पहल गर्न आग्रह गरेका थिए ।
शनिबार साझ बालकोट पुगेर ओलीलाई भेटेको समूह सोमबार बिहान प्रचण्ड भेट्न बालुवाटार पुगेको थियो । दुबै ठाउँमा एमाले अछाम इन्चार्ज समेत रहेका पूर्व प्रदेश मन्त्री झपट बोहरा पनि थिए ।
यी दुबै ठाउँमा भएका संवादहरूका बिषयमा बोहराले कारागारमा रहेका चौधरीलाई जानकारी गराएका थिए । चौधरीले पनि सरकार आफूलाई रिहा गर्ने विषयमा सकारात्मक रहेको आसा पलाएको बिषयमा बोहरालाई बताएका थिए ।
‘सरकार तपाइहरूका बिषयमा गम्भीर छ । प्रधानमन्त्री तथा माओवादी अध्यक्ष र एमाले अध्यक्षको यस बिषयमा एउटै धारणा आइसकेको छ’ भेटमा चौधरीलाई बोहराले भने, ‘सरकारले गर्ने काम गरिरहेको छ । नागरिक उन्मुक्ति पनि अघि बढ्नु प¥यो ।’
उक्त भेटमा अब धेरै समय नागरिक उन्मुक्ति अनिर्णय बन्दी नबन्ने सङ्केत चौधरीले बोहरालाई दिएका थिए । सुदूरपश्चिम प्रदेशमा एमाले संसदीय दलका नेता राजेन्द्र रावललाई मुख्यमन्त्री नियुक्त गर्दा एमाले, माओवादी, नागरिक उन्मुक्ति र राप्रपाले साथ दिएका थिए । तर, विश्वासको मत दिने बिषयमा उन्मुक्तिमा अन्योल थियो । तर, नागरिक उन्मुक्तिका नेता तथा सांसदले दुबै अध्यक्षलाई भेटेपछि यस बिषयमा करिब सहमति जुटिसकेको बताइन्छ ।
ओलीको सन्देश बोकेर कारागार पुगेका बोहरा पनि यस बिषयमा रेशम सकारात्मक रहेको बताउँछन् । यता सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री पनि नागरिक उन्मुक्तिका मुद्धाहरु सम्बोधन गर्न तयार छन् ।
‘नागरिक उन्मुक्तिले उठाएका मुद्धाहरु प्रधानमन्त्री देखी हाम्रो मुख्यमन्त्री पनि सम्बोधन गर्न तयार हुनुहुन्छ । पार्टी अध्यक्षको पनि त्यहि धारणा छ । उहाँहरूलाई हामी अन्याय हुन दिन्नौँ’ भेट पछि बोहराले भने, ‘अब चाडै सरकारले विश्वासको मत पाउँछ ।’
आज प्रदेश सभाको बैठक आह्वान गरिएको थियो ।विश्वासको मतका बिषयमा आधार तय नभएपछि बैठक अर्को सूचना जारी नहुँदा सम्मको लागि स्थगित गरिएको छ । १७ गते भित्रै बैठक बोलाउने र विश्वासको मत दिने बिषयमा अहिले नागरिक उन्मुक्ति पार्टी भित्र पनि छलफल भइरहेको छ ।
११ माघ २०७९, बुधवार १९:०८ बजे प्रकाशित






























