बाजुराका भूकम्प पीडितलाई हिमपात र झरीले थप सास्ती

हिमपात र वर्षाले भूकम्प पीडितको बिचल्ली भएको छ । हिजो दिउँसो २ बजेर ४३ मिनेटमा बाजुराको कोल्टी नजिकै केन्द्रबिन्दु भएर ५ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पमा परेर बाजुरामा एक जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन् । यस्तै, बझाङमा पनि केही घाइते भएका छन् ।

भूकम्पका कारण बाजुराका धेरै घरहरु चर्किएका र केही भत्किएका छन् । फेरि भूकम्प आउने डरले पीडितहरुले खेतबारी र चौरमा पाल टाँगेर रात बिताएका छन् । केहीले भने प्लाष्टिकले बेरबार पारेर रात कटाएका छन् । भूकम्प प्रभावित क्षेत्रमा अस्ति रातिदेखि लगातारजसो पानी परिरहेको छ ।

यस्तै, हिमाली क्षेत्रमा पनि हिमपात भइरहेको छ । हिमपात र वर्षाका कारण भूकम्प पीडित थप प्रभावित भएका छन् । लगातारजसो परेको वर्षाले कठ्याङ्ग्रिँदो चिसो छ । बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रबहादुर विष्टका अनुसार अहिले पनि पानी परिरहेको छ । पानी परिरहेकाले भूकम्पबाट भएको क्षतिको सङ्कलन र उद्धारमा कठिनाइ भएको उनले बताए ।

भूकम्पबाट कति विस्थापित भए भन्ने जानकारी आउन बाँकी रहेको छ । अहिलेसम्म एक महिलाको ज्यान गएको र ३० वटा घरमा क्षति पुगेको जानकारी प्राप्त भएको उनले बताए । यस्तै, ४० वटा भेडालाई पहिरोले पुरेको छ ।


११ माघ २०७९, बुधवार ०८:२६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु