सुदूरपश्चिमका युवालाई राष्ट्रिय युवा संघ प्रदेश संयोजकको सुझाव : डिप्रेसनबाट जोगिनुहोस्
कैलाली । राष्ट्रिय युवा संघ सुदूरपश्चिम प्रदेश संयोजक विनय शाहले सुदूरपश्चिम प्रदेशका युवाहरूलाई डिप्रेसनबाट जोगिन सुझाव दिएका छन् ।
राष्ट्रिय युवा संघ नेपाल सुदूरपश्चिम प्रदेश कमिटीको दोस्रो पूर्ण बैठक तथा शपथ ग्रहण कार्यक्रममा शाहले पछिल्लो सयौँ युवाहरूमा देखिएको समस्या हुन नदिन सचेत रहन आग्रह गरेका हुन् ।
‘पछिल्लो समय युवाहरू डिप्रेसनको सिकार भइरहेका छन्’ उनले भने ‘तपाइहरू आफ्नो स्वभाव हेर्नुहोस् र डिप्रेसनबाट जोगिनुहोस् ।’
कैलाली कञ्चनपुरमा पछिल्लो समय आत्महत्याका घटना बढिरहेको भन्दै युवाहरू यस बिषयमा गम्भीर बन्नु पर्ने बताए । उनले आफ्नो उदाहरण दिँदै युवाहरूलाई साँझ समयमै घर जान र बिहान चाँडै उठ्न सुझाव दिए । युवाहरूले अध्ययन बढाउनु पर्ने समेत शाहले युवाहरूलाई बताए ।उनले राजनीति प्रति बितृष्णा बढिरहेको भन्दै त्यसलाई युवाहरूले चिर्नु पर्ने बताए ।
‘आजको पुस्ताले राजनीति खराब खेल भन्दै हिँडिरहेको छ । हामीले त्यसलाई चिर्न आवश्यक छ’ उनले भने ।
शाहले मुलुक निर्माणमा युवाको ठुलो भूमिका हुने भन्दै सकारात्मक दिशा तर्फ लाग्नु पर्ने बताए ।
८ माघ २०७९, आइतवार २०:३९ बजे प्रकाशित













