सुदूरपश्चिमको मुख्यमन्त्रीमा एमालेका राजेन्द्र रावल नियुक्त
कैलाली । सुदूरपश्चिम प्रदेशमा एमालेका राजेन्द्र रावल मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।
प्रदेश प्रमुख देवराज जोशीले संविधानको धारा १६८ को उपधारा२ अनुसार एमाले संसदीय दलका नेता रावललाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । एमालेसँगै माओवादी केन्द्र , नागरिक उन्मुक्ति र राप्रपाको साथमा रावलले मुख्यमन्त्रीका दाबी पेश गरेका थिए ।
५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा बहुमत दाबी गर्न २७ सांसद आवश्यक पर्छ । एमालेका रावलले २९ सांसद सहित मुख्यमन्त्रीमा दाबी गरेका थिए । उनलाई एमालेका १० सहित, माओवादी केन्द्रका ११ नागरिक उन्मुक्तिका ७ र राप्रपाका १ सांसदले साथ दिएका छन् ।
प्रदेश प्रमुखको कार्यालयले बिहीबार बिहान मुख्यमन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहणको कार्यक्रम राखेको छ । भोली नै सानो मन्त्रीमण्डल बन्न सक्ने जनाइएको छ ।
२७ पुस २०७९, बुधवार १८:१० बजे प्रकाशित






























