भारतबाट बढेर आयो इन्धनको मूल्य, नेपालमा यथावत्
इन्डियन आयल कर्पोरेसन ९आइओसी ले नेपाललाई बिक्री गर्ने पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको छ।
आइतबार आइओसीले नेपाललाई नयाँ मूल्य पठाएको हो।
नेपाल आयल निगमका अनुसार आइओसीले पेट्रोलमा प्रतिलिटर २ रूपैयाँ ५४ पैसा बढाएर पठाएको छ।
यस्तै डिजेलमा २ रूपैयाँ ९५ पैसा, हवाई इन्धनमा ४ रूपैयाँ १३ पैसा र एलपी ग्यासमा ७८ रूपैयाँ २२ पैसा बढाएर आएको निगमले जनाएको छ। त्यस्तै, मट्टितेलको भाउ भने केही घटेर आएको निगमले जनाएको छ।
मूल्य बढेर आएसँगै निगमलाई एलपी ग्यासमा प्रति सिलिन्डर ३५९ रूपैयाँ ५० पैसा घाटा रहेको जनाएको छ।
समग्रमा निगमलाई आगामी १५ दिनमा अनुमानित ९९ करोड नाफा हुने समेत जनाएको छ।
हाल भारतबाट मूल्य बढेर आएता पनि नेपालमा भने यथावत् नै रहने निगमले जनाएको छ।
१८ पुस २०७९, सोमवार ०६:४१ बजे प्रकाशित






























