राष्ट्रपतिले दिएको समय सीमा आज सकिँदै, गठबन्धनमा सहमतिको सम्भावना क्षीण
कैलाली। नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समयसीमा आज सकिँदै छ । संविधानको धारा ७६ को उपधारा २ अनुसार प्रधानमन्त्री नियुक्तिका लागि दाबी पेश गर्न राष्ट्रपतिले आज अपराह्न ५ बजेसम्मको समय दलहरूलाई दिएकी थिइन् ।
पुस ३ गते राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जारी गरेको विज्ञप्तिमा संविधानको धारा ७६ को उपधारा १ अनुसार कुनै पनि दलको बहुमत नभएको हुँदा २ अनुसार दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई प्रधानमन्त्री नियुक्तिको लागि राष्ट्रपति समक्ष दाबी गर्न आज अपराह्न ५ बजेसम्मको समय दिइएको उल्लेख गरिएको थियो ।
राष्ट्रपतिले उपलब्ध गराएको समय सीमा आज सकिँदै गर्दा पनि दलहरू बिच सहमति बन्न सकेको छैन । सत्ता गठबन्धनकै सरकार बनाउने भन्दै लागिरहेको गठबन्धनका दलहरू सरकारको नेतृत्व कसले गर्नै भन्नेमै अड्किएका छन् ।
पहिलो चरणमा प्रधानमन्त्रीमा कांग्रेस र माओवादी दुवैले अडान कायमै राखिरहेका छन् । जसका कारण लगातार दुई दिनको छलफलले कुनै निकास दिन सकेन । अस्ति प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड बिचको छलफलले ठोस निर्णय गर्न नसकेपछि हिजो बालुवाटारमा गठबन्धनको बैठक आह्वान गरिएको थियो । उक्त बैठकले पनि कुनै निर्णय गर्न सकेन ।
आज पुन ९ बजे गठबन्धनको निर्णायक बैठक बोलाइएको छ । ९ बजेको बैठकमा पनि सहमति हुन नसके गठबन्धन नरहन सक्ने नेताहरूले सङ्केत दिएका छन् ।
यता गठबन्धन भित्रै माओवादी र नेपाली काङ्ग्रेससँग सहमति जुट्न नसक्दा कांग्रेसले एमालेको साथमा पनि सरकार बनाउन सक्ने सङ्केत दिएको छ । हिजो दिउसो एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड प्रधानमन्त्री बन्ने सम्भावना नरहेको टिप्पणी गरेकै साँझ शेरबहादुर देउवाले विमलेन्द्र निधिलाई बालकोट पठाएका थिए ।
निधी देउवाको दूत भएर बालकोट गएका हुन् । गठबन्धनको दोस्रो ठुलो दल माओवादीले अड्को थापेपछि कांग्रेस एमालेको साथमा अघि बढ्न तयार देखिएको छ । तर,एमाले र कांग्रेस बिच पनि औपचारिक रूपमा सरकार गठन लगायतका विषयमा छलफल भएको छैन ।
आज सहमति नभए के हुन्छ ?
दलहरूलाई राष्ट्रपतिले नयाँ सरकार बनाउन दिएको समय सीमा आज सकिँदै छ । दलहरूसँग कि आज सहमति गरिसक्नु पर्ने वा राष्ट्रपति समक्ष समय थप माग्नु पर्ने दुई विकल्प छन् ।
यी दुवै नभए राष्ट्रपति कार्यालयबाट अपराह्न ५ बजे पछि अर्को विज्ञप्ति जारी हुने छ । संविधानको ७६ को उपधारा १ अनुसार कुनै पनि दलको बहुमत नभएको हुँदा उपधारा २ अनुसार पनि सरकार बनाउन नसके उपधारा ३ अनुसार सरकार बन्न सक्छ ।
उपधारा ३ मा प्रतिनिधि सभाको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले तीस दिनभित्र उपधारा २ बमोजिम प्रधानमन्त्री नियुक्ति हुन सक्ने अवस्था नभएमा वा त्यसरी नियुक्त प्रधानमन्त्रीले उपधारा ४ बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा राष्ट्रपतिले प्रतिनिधिसभामा सबैभन्दा बढी सदस्यहरू भएको दलको संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने उल्लेख छ ।
यो उपधारमा टेक्दा शेरबहादुर देउवा प्रधानमन्त्री हुने छन् । उनले ३० दिन भित्र विश्वासको मत लिनु पर्ने हुन्छ । राष्ट्रपतिले दिएको समय अझै १० घण्टा बाँकी रहेको हुँदा दलहरू बिच सहमतिको अपेक्षा गरिएको छ । नयाँ सरका बनाउन १३८ सांसद आवश्यक पर्छ ।
१० पुस २०७९, आइतवार ०७:४० बजे प्रकाशित






























