गठबन्धन बैठकमा प्रश्न : महाकालीमा के भइरहेको छ सरकारलाई थाहा छ ?
चुनाव सकिएपछि बसेको सत्ता गठबन्धनको सोमबारको बैठकमा महाकालीमा आइतबार घटेको घटनाले पनि प्रवेश पायो । भलै त्यो उनीहरुले निकालेको वक्तव्यमा उल्लेख छैन ।
महाकाली नदीको बहावलाई नेपालतर्फ धकेलेर भारतले जबर्जस्ती संरचना बनाउँदा नेपाल सरकार प्रतिक्रियाविहीन बसेको भन्दै सत्ता गठबन्धनमा सहभागी नेकपा एकीकृत समाजवादीका नेताहरुले आवाज उठाएका थिए । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले त्यसमा समर्थन गरे ।
माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष श्रेष्ठले त्यसमा सहमति जनाउँदै तुरुन्तै नेपालका तर्फबाट आफ्नो धारणा दिन सरकारसमक्ष आग्रह गरे ।
प्रधानमन्त्री शेरबहादुर देउवाले यसबारे आफूले भारतसँग कुरा गर्छु भनेर आश्वासन दिएको एकीकृत समाजवादीका महासचिव वेदुराम भुसालले जानकारी दिए । ‘हामीले सरकार र गठबन्धनले जिम्मेवार ढंगले यसमा स्ट्यान्ड लिनुप¥यो भनेका छौं,’ उनले भने, ‘प्रधानमन्त्रीले म भारतसँग यसबारेमा कुरा गर्छु, के भएको हो, सबैकुरा बुझेर सत्यतथ्य बाहिर ल्याउँछु भन्नुभएको छ । उहाँले सरकारले कुरा बुझ्न टोली खटाइसकेको पनि बैठकमा भन्नुभयो ।’
२० मंसिर २०७९, मंगलवार ०७:४२ बजे प्रकाशित













