बाजुरामा विद्यार्थी नेताको हत्या
बाजुरामा अनेरास्ववीयुका नेताको हत्या गरिएको छ । आइतबार मतदानका क्रममा भएको विवादलाई लिएर राति घरमा आक्रमण गरेर त्रिवेणी नगरपालिका–७ का चेतन अयडीको हत्या गरिएको प्रहरीले जनाएको छ ।
कुटपिटबाट गम्भीर घाइते भएका अयडीको उपचारका क्रममा बयलपाटा अस्पतालमा मृत्यु भएको बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) सूर्य थापाले जानकारी दिए ।
दिउसो वडा नम्बर ७ को नाटेश्वरी मतदान केन्द्रमा भएको विवादको विषयलाई लिएर अयडीमाथि आक्रमण गरिएको प्रहरीले जनाएको छ ।। अयडी नेकपा एमाले सम्बद्ध अनेरास्ववीयुका सचिवालय सदस्य तथा सुदूरपश्चिम विश्वविद्यालयका अध्यक्ष हुन् ।
अयडीको पारिवारिक स्रोतले घरबाट झिकेर बीभत्स ढङ्गबाट हत्या गरिएको बताएका छन् । आइतबार नै मतदानमा भएको विवादका क्रममा प्रहरीले चलाएको गोली लागेर स्थानीय २५ वर्षीय सुरेन्द्र अयडीको मृत्यु भएको थियो । उनी नेपाली कांग्रेसका कार्यकर्ता हुन् ।
५ मंसिर २०७९, सोमवार ०७:०१ बजे प्रकाशित






























