कैलालीमा ३ महिनामा ४२३ जनालाई डेङ्गु सङ्क्रमण
कैलालीमा तीन महिनामा ४२३ जनामा डेङ्गु सङ्क्रमण भएको छ। जिल्लामा वर्षायामको समयमा अत्यधिक व्यक्तिमा डेङ्गु सङ्क्रमण देखिएको हो।
स्वास्थ्य कार्यालय कैलालीका अनुसार सबैभन्दा बढी धनगढी उपमहानगरपालिकामा सबैभन्दा बढी व्यक्तिमा डेङ्गु सङ्क्रमण भएको छ। धनगढीमा अहिलेसम्म १४१ जना डेङ्गुका बिरामीको पुगेका छन्।
जिल्लाको लम्कीचुहा नगरपालिकामा ११३ जना व्यक्तिमा डेङ्गु सङ्क्रमण भएको थियो। यस्तै बर्दगोरिया गाउँपालिकामा ७२ र टीकापुर नगरपालिकामा ४० जनालाई डेङ्गु सङ्क्रमण भएको स्वास्थ्य कार्यालय कैलालीका सूचना अधिकारी तेजविक्रम शाहीले बताए।
गोदावरी नगरपालिकामा २८, गौरीगङ्गामा सात, भजनी नगरपालिकामा पाँच जनामा सङ्क्रमण पुष्टि भएको छ। यस्तै जोशीपुर गाउँपालिकामा छ, घोडाघोडी नगरपालिका र जानकी गाउँपालिकामा चाररचार, मोहन्याल गाउँपालिकामा तीन जनामा डेङ्गु सङ्क्रमण देखिएको छ। असोज अन्तिम दिनसम्म कैललाीमा ४२३ जनामा संक्रमण देखिएको हो।
जिल्लाको कैलारी र चुरे गाउँपालिकामा भने डेङ्गुका बिरामी हालसम्म फेला परेका छैनन्। अहिले चिसो बढ्दै गएकाले डेङ्गुको नयाँ बिरामी फेला पर्ने क्रम घट्दै गएको छ। दशैँपछि जम्मा १९ जना नयाँ बिरामी थपिएका छन्। दशैंँसम्म डेङ्गु सङ्क्रमितको सङ्ख्या ४०४ थियो ।
१ कात्तिक २०७९, मंगलवार १३:४७ बजे प्रकाशित






























