गौरीफन्टा नाकाबाट २ महिलासहित ४ जना नियन्त्रणमा
गौरीफन्टा नाकाबाट दुई महिलासहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सोमबार राति नाकाबाट अवैध रुपमा सामान लिएर आइरहेका २ महिलासहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
धनगढी उपमहानगरपालिका–२ का रिता कुँवर र मञ्जु कुँवरलाई नाकाबाट सामान ल्याइरहेको अवस्थामा गाडीमा गस्ती गरिरहेका भन्सार कार्यालय कैलालीका कर्मचारीले फेला पारेका थिए । उनीहरुले ल्याएको सामान नियन्त्रणमा लिँदा भन्सार कार्यालयका गाडी चालक रोहित महतामाथि हातपात गरिएको थियो ।
रिचा र मञ्जुले चालकमाथि हातपात गरेको भन्दै उनीहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताए ।
सोही क्रममा त्यहाँ पुगेका रिताका श्रीमान कालुसिंह कुँवरले भन्सार कार्यालयको गाडीमाथि तोडफोड गरेको बताउँदै डीएसपी जोशीले उनीसहित अन्य दुई महिला र भन्सार कार्यालयका सवारी चालक रोहित महतालाई नियन्त्रणमा लिइएको जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
२४ साउन २०७९, मंगलवार १३:२१ बजे प्रकाशित






























