देउडा गायक हरिश्चन्द्र कडायतको निधन
वरिष्ठ देउडा गायक हरिश्चन्द्र कडायतको निधन भएको छ । बुधबार बिहान धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा उनको निधन भएको पारवारिक स्रोतले जनाएको छ ।
कडायतले ‘कर्णालीका भेल’, ‘बझाङी काल्या’, ‘लंकाभरि सुन छ’, ‘ल बिणी खान्या की’ लगायत सुदूरपश्चिम र कर्णालीमा चर्चित देउडा गीतमा आवाज दिएका थिए । २०५० सालदेखि नै गायन क्षेत्रमा प्रवेश गरेका कडायतले एक सयभन्दा बढी देउडा गीतमा स्वर दिएका छन् । उनले आफ्नै शब्द रचनामा पनि थुप्रै गीत गाएका छन् ।
बझाङको छबिसपाथिभेरा गाउँपालिका-२ मुम्लाका गायक कडायत ५४ वर्षका थिए । गत हप्ता मस्तिष्कघात भएपछि उनलाई धनगढीस्थित नवजीवन अस्पताल भर्ना गरिएको थियो । स्वास्थ्यमा सुधार नभएपछि उनलाई सेती प्रादेशिक अस्पतालमा रिफर गरिएको थियो ।
११ साउन २०७९, बुधवार १२:३१ बजे प्रकाशित













