punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

अछामका शाही मृत्यु प्रकरण : आरोपीलाई नपक्रेको विरोधमा पाँच दलले बन्द गराए यातायात

Chaupati
safha napa

अछामको पञ्चदेवल विनायक नगरपालिका–४ का १५ वर्षीय बिनोद शाही मृत भेटिएको घटनाका आरोपीलाई प्रहरीले पक्राउ नगरेको विरोधमा पाँच दलले आज अछाममा सवारीसाधन बन्द गराएका छन् ।

नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी र विप्लव नेतृत्वको नेकपाले संयुक्त रुपमा जिल्लाभर सवारीसाधन बन्द गराएका हुन् । उनीहरुले आइतबार र सोमबार दुई दिन सवारी साधन बन्द गर्ने बताएका छन् ।

शक्ति र सत्ताको आडमा दोषीले उन्मुक्ती नपाओस् भनेर असार १९ र २० गते सार्वजनिक सवारी साधन पूर्ण रुपमा बन्द गर्न बाध्य भएको पाँच दलले जारी गरेको संयुक्त विज्ञप्तीमा उल्लेख छ ।

संयुक्त प्रेस विज्ञप्ती नेकपा एमालेका जिल्ला कमिटी सचिव भीम रावल, माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशका आमन्त्रित प्रदेश सदस्य शिव बोगटी, एकीकृत समाजवादीका जिल्ला सचिवालय सदस्य बम रावल, राप्रपाका जिल्ला कमिटी सदस्य दीपक विष्ट र विप्लव नेतृत्वको नेकपाका जिल्ला सचिवालय सदस्य लोकेन्द्र शाहीले हस्ताक्षर गरेका छन् ।

पीडित पक्षले शाहीको हत्या गरेको आरोप लगाउँदै पञ्चदेवल विनायक नगरपालिकाकी मेयर अम्बिका चलाउनेसहितका १३ जनाविरुद्ध किटानी जाहेरी दिएपनि प्रहरीले पाँच जना बाहेक अरुलाई पक्राउ गरेको छैन । मेयर चलाउने पनि फरारको सूचीमा छिन् ।

शाहीको हत्यामा संलग्नलाई हिरासतमा लिएर अनुसन्धान गर्न प्रहरीले आनाकानी गरेको र पटक–पटक किटानी जाहेरी दर्ता गरे पनि स्थानीय प्रशासनले बेवास्ता गरेको पाँच दलको आरोप छ ।

विनोद शाहीका लागि न्याय माग्दै यसअघि स्थानीय स्तरमा आन्दोलनका कार्यक्रम भइरहेको थियो । तर अहिलेसम्म पनि दोषीलाई पक्राउ नगरेको भन्दै जिल्ला स्तरीय दबाबमुलक कार्यक्रम थालिएको संघर्ष समितिले जनाएको छ ।

वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनका दिन पञ्चदेवल विनायक नगरपालिकामा कांग्रेस र एमालेका कार्यकर्ताबीच विवाद भएको थियो । स्थानीय प्रशासनका अनुसार विवादका क्रममा कांग्रेस कार्यकर्ताले एमाले कार्यकर्तामाथि कुटपिट गरेपछि करीब तीन घण्टा मतदान रोकिएको थियो । सोही विषयलाई लिएर पछि एमाले कार्यकर्ताले कांग्रेस कार्यकर्तामाथि कुटपिट गरेका थिए ।

पछि कांग्रेस कार्यकर्ताले दिएको जाहेरीका आधारमा १७ जेठमा प्रहरीले पक्राउ गर्न खोज्दा अवरोध गरेपछि दोहोरो झडप भएको थियो । सोही क्रममा शाही बेपत्ता भएको परिवारको दाबी छ । पछि उनी मृत भेटिएका थिए ।

शाहीको हत्या गरिएको भन्दै दोषीलाई पक्राउ गर्न माग गर्दै परिवारले ५ दिनसम्म घटनास्थलबाट शव उठाउन दिएको थिएन । प्रहरीले घटनाको निष्पक्ष अनुसन्धान गर्ने प्रतिबद्धता जनाएपछि उनीहरु शव बुझ्न तयार भएका थिए ।

 


१९ असार २०७९, आइतवार ०९:५० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु