राप्ती नदीमा पानीको सतह बढ्दै गएपछि सतर्कता अपनाउन आग्रह

राप्ती नदीमा पानीको सतह बढ्दै गएपछि स्थानीय प्रशासनले नदी तटीय क्षेत्रका वासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ ।

गत मध्यरातबाट परेको अविरल वर्षाका कारण नदीमा बाढीको सतह बढ्दै गएको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र बाँकेका सूचना अधिकृत रुपन ज्ञवालीले जानकारी दिए ।

उनका अनुसार पछिल्लो ६ घण्टामा बाँकेमा १५० मिलीमिटर वर्षा मापन भएको छ । बुधवार बिहान ९ बजे राप्ती नदीमा पानीको सतह ३ दशमलव १८ मिटर रहेको छ । बुधवार दिनभर मध्यम वर्षा भइरहने अनुमान रहेकाले राप्ती नदीमा बाढीको सतह बढ्न सक्ने छ ।

कुसुमस्थित राप्ती नदीमा पानीको सतह ५ मिटर रहे चेतावनीको सतह र ५ दशमलव ४ मिटर भए खतराको सतह मानिन्छ । राप्ती नदीमा खतराको सतहमा पानी भए डुडुवाको होलिया, चौफेरी, बेतहनी, कम्दी र राप्तीसोनारी गाउँपालिकाको बैजापुर, बिनौना, फत्तेपुरलगायत क्षेत्र डुबानमा पर्ने गरेका छन् ।

राप्ती नदीमा पानीको सतह बढ्दै गएपछि नदी तटीय क्षेत्रका वासिन्दालाई सजग रहन सूचना जारी गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले बताए । नदीमा बाढी बढेकाले माछा तथा बगेर आएका काठ दाउरा छोप्न नदीमा पस्ने काम नगर्न रनगराउन प्रशासनले आग्रह गरेको छ ।


१५ असार २०७९, बुधवार १२:५२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु