punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कृषि सामग्री कम्पनीले नल्याएपछि आफै मल लिन भैरहवा पुगे सहकारी

Chaupati
safha napa

रासायनिक मलको आपूर्ति र बिक्रीवितरण गर्दै आएको कृषि सामग्री कम्पनीको कार्यालय र गोदाम धनगढीमै छ । तर, कृषि सामग्री कम्पनीबाट किसानसम्म मल पु¥याउने यहाँका कृषि सहकारीहरू भने मल खोज्दै भैरहवासम्म पुग्नु परिरहेको छ । कम्पनीको प्रादेशिक कार्यालय धनगढीले सुदूरपश्चिम प्रदेशका लागि तोकिएको कोटाको मल भैरहवाबाट ढुवानी गरेर नल्याउँदा यस्तो अवस्था आएको हो ।

धनगढीस्थित राष्ट्रसेवक सहकारी संस्थाले हालै कम्पनीको भैरहवास्थित गोदामबाट ४२ क्विन्टल डीएपी मल आफैं सवारीसाधनको व्यवस्था गरी ल्याएको छ । ‘सुदूरपश्चिमका लागि छुट्याइएको २ हजार १ सय ६९ मेट्रिक टन डीएपी मल भैरहवा गोदाममा रहेछ,’ सहकारीका अध्यक्ष लोकराज पनेरुले भने, ‘तर ढुवानी गर्ने ठेकेदारको अटेरीका कारण कम्पनीले तत्काल ढुवानी गर्न नसक्ने जनायो । त्यसपछि के गर्ने रु किसानलाई मल चाहिएको छ । सहकारीहरू आफैं ढुवानी गर्न मञ्जुर भयौं ।’

सहकारीले भैरहवाबाट ढुवानी गरेर बिक्री गर्दा किसानलाई प्रतिक्विन्टल थप ३ सय रुपैयाँ महँगो पर्न गएको छ । पनेरुका अनुसार कम्पनीको धनगढी गोदामबाट सहकारीले डीएपी प्रतिक्विन्टल ४ हजार ६ सयमा रुपैयाँमा पाउँथे । ढुवानी भाडा जोडेर किसानले ५ हजार रुपैयाँसम्ममा पाउँथे । अहिले सहकारी आफैंले भैरहवाबाट ल्याउँदा प्रतिक्विन्टल ५ हजार ३ सय रुपैयाँमा मल बिक्री गर्नु परिरहेको उनले बताए । ‘सहकारीले भैरहवाबाट प्रतिक्विन्टल ४ हजार ४ सय रुपैयाँमा पाइरहेका छन्,’ उनले भने ।

कम्पनीको धनगढी कार्यालय प्रमुख नवलसिंह बोगटीले ठेकेदारले सम्झौता भएजतिको परिणामको मल पहिल्यै ढुवानी गरिसकेकाले अहिले थप ढुवानी गर्न नमानेको बताए । ‘सम्झौतामा आवश्यक परेमा उल्लिखित परिणामको थप २५ प्रतिशत मल ढुवानी गर्नुपर्ने सर्त उल्लेख छ,’ उनले भने, ‘अहिले हामीले ठेकेदारलाई उक्त सर्त पालना गरिदिन भनेका थियौं तर मानिरहेको छैन ।’

ठेकेदारले इन्धनको मूल्य बढेका कारण पुरानो सम्झौताअनुसार थप ढुवानी गर्न अस्वीकार गरेको उनले बताए । केन्द्रीय कार्यालयले ढुवानीको अर्को व्यवस्था नगर्दासम्म कम्पनीको भैरहवा गोदामबाट मल ल्याउन सक्ने अवस्था नरहेको उनको भनाइ छ ।

धनगढी कार्यालयले प्रदेशको कोटाको मल ढुवानी गरेर ल्याउन चाहेका सहकारी संस्थालाई उपलब्ध गराई दिन भैरहवा कार्यालयका नाममा पत्र काटेर दिने गरेको छ । सुदूरपश्चिमको कोटामा परेको २ हजार १ सय ६९ मेट्रिक टन डीएपीमध्ये कैलालीलाई १ हजार ३ सय मेट्रिक टन, कञ्चनपुरलाई ६ सय मेट्रिक टन र बाँकी मल अछाम, बझाङ, बाजुरा, बैतडी, दार्चुला र डडेलधुरालाई छुट्याइएको कार्यालय प्रमुख बोगटीले बताए । उनका अनुसार वैशाखमा नेपाल भित्रिएको २० हजार मेट्रिक टन डीएपीमध्ये सुदूरपश्चिमका लागि छुट्याइएको उक्त परिमाणको मल भैरहवामा भण्डारण गरिएको थियो ।

प्रदेशभर धान रोपाइँ गर्न डीएपी १० हजार मेट्रिक टन र युरिया १५ हजार मेट्रिक टन आवश्यक रहेको उनले बताए । तर, मागअनुसारको मल आउने कुरामा उनी आफैं विश्वस्त छैनन् । ‘चाहेजति माग गर्छौं तर आधा जति पनि आउँदैन,’ उनले भने, ‘त्यसैले कैलाली र कञ्चनपुरमा सधैं मलको अभाव हुने गरेको छ ।’ अहिले कम्पनीको धनगढी गोदाम रित्तो छ ।

स्टोरकिपर रूपक कुँवरले वैशाखदेखि नै गोदाम रित्तो रहेकाले किसानले धानको बीउ राख्नसमेत मल नपाएको बताए । सुदूरपश्चिमकै अन्न भण्डार हुन् कैलाली र कञ्चनपुर । जहिल्यै खेतीपाती लगाउने बेला मल नपाउने यहाँका किसानको गुनासो रहँदै आएको छ । सरकारले मल उपलब्ध गराउन नसक्दा भारतसँग सीमा जोडिएका यी दुवै जिल्लाका किसान अवैध रूपमा सीमापारिबाट कमसल मल ल्याएर प्रयोग गर्न बाध्य छन् ।

यसले माटोको उर्वरा शक्ति घटाई उत्पादकत्वमा कमी आउँदै गएको छ । अहिले भारतबाट समेत मल ल्याउन नसकेको भजनीका एक किसानले गुनासो गरे । ‘न त सरकार आफैं मल दिन सक्छ,’ उनले भने, ‘भारतबाट खुला सीमाका कारण मल ल्याउन सकिन्थ्यो । अहिले त्यो पनि ल्याउन दिएको छैन ।’


२० जेठ २०७९, शुक्रवार १०:५५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु