आज राति १२ बजेदेखि म्यादी प्रहरीको म्याद सकिँदै
गत चैत १ गते प्रहरी प्रधान कार्यालयले सूचना जारी गरी वैशाख ३० गते हुने (हाल सम्पन्न) स्थानीय तह निर्वाचनको सुरक्षाका लागि जेठ ५ गतेसम्मका लागि एक लाख म्यादी प्रहरीका लागि आवेदन खुला गरी दरखास्त आह्वान गरेको थियो।
चैत ६ गतेदेखि ११ गते ९६ दिन०सम्ममा दुई लाख ८९ हजार चार सय ३१ जनाले सो पदका लागि आवेदन दिएका थिए भने सोमध्ये ५९ हजार चार सय ८९ जना महिला आवेदक थिए। म्यादी प्रहरी भर्नाका लागि काठमाडौँ प्रहरी परिसर टेकुमा फाराम बुझाएकाहरूको किर्तिपुरस्थित ल्याबेरोटरी स्कुलको मैदानमा चैत १५ गतेबाट शारीरिक परीक्षा लिइएको थियो। परीक्षामा १००० मिटर दौड, पुस अप, सेट अप लगायत परीक्षा लिइएको थियो। १००० मिटर दौड पुरुषले ५ मिनेटमा र महिलाले ७ मिनेटमा पूरा गर्नुपर्ने प्रहरीको व्यवस्था थियो।
चैत २० गते शारीरिक परीक्षाको नतिजा प्रकाशन भएपछि मेडिकल, लिखित परीक्षा र मौखिम परीक्षा लिई देशभरका विभिन्न जिल्लाबाट एक लाख म्यादी प्रहरी स्थानी तह निर्वाचनका लागि भर्ना गरिएको थियो। भर्ना पास भएका म्यादी प्रहरीलाई चैत ३० गतेदेखि आधाभूत तालिम दिइएको थियो।
१८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका व्यक्तिलाई म्यादी प्रहरीमा लिइएको थियो। म्यादी प्रहरीमा भर्ना हुनका लागि नेपाली नागरिक हुनुपर्ने, फौजदारी अभियोग लागेको नहुनुपर्ने, कुनै राजनीतिक दलको सदस्य हुनु नहुने, शारीरिक र मानसिकरुपले तन्दुरुस्त हुनुपर्ने लगायतका मापदण्ड राखिएका थिए।
देशैभर खटिएका एक लाख म्यादी प्रहरीहरूमध्ये चारजनाको मृत्यु भएको र आचरणविपरीत गतिविधि गरेको कसुरमा ४८ जना बर्खास्त भएको जनाइएको छ। भोलि शुक्रबार जेठ ६ गतेबाट म्यादी प्रहरीको म्याद सकिँदैछ।
५ जेठ २०७९, बिहीवार १६:५२ बजे प्रकाशित































