डोटीमा निर्वाचन सामग्रीसहित कर्मचारी मतदान केन्द्रमा
आसन्न स्थानीय तहको निर्वाचनका लागि जिल्लाका सबै मतदान केन्द्रहरुमा मतपत्रसहितका निर्वाचन सामग्री पु¥याइएको छ। जिल्ला निर्वाचन कार्यालय सिलगढीबाट मङ्गलबार मतदान केन्द्रमा खटिएका कर्मचारी र सुरक्षाकर्मी निर्वाचन सामग्री लिएर आफूलाई खटाइएको केन्द्रमा पुगेका छन्।
जिल्ला निर्वाचन कार्यालयका मुख्य निर्वाचन अधिकृत विदुर काफ्लेका अनुसार यहाँका दुई नगरपालिकासहित सात गाउँपालिकामा रहेका सम्पूर्ण मतदान केन्द्रका मतदान अधिकृतहरुलाई मतपेटिका, मतदाता परिचयपत्र, मतदाता नामावली लगायतका ६४ प्रकारका सामग्री प्रदान गरी पठाइएको र केही ठाउँमा मङ्गलबार नै पुगेका र दुर्गम ठाउँमा आज पुगिसक्ने बताए।
मतदानस्थलमा नेपाली सेना, म्यादीसहित नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका टोली पनि पुगिसकेका छन्। निर्वाचनका लागि नौ पालिकामा ११५ मतदानस्थल तथा मतदान केन्द्र तोकिएका छन्।
२८ वैशाख २०७९, बुधवार १४:२१ बजे प्रकाशित






























