भारतसँग जोडिएका सीमा नाका ७२ घण्टाका लागि बन्द हुने
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आजदेखि भारतसँग जोडिएका सीमा नाका बन्द हुने भएका छन्। भारतसँग सीमा जोडिएका जिल्लाका जिल्ला प्रशासन कार्यालयहरूले सूचना जारी गर्दै आजदेखि ७२ घण्टाका लागि नाका बन्द रहने जनाएका छन्।
बाँके, बर्दिया, मोरङ, सुनसरी, झापा, कैलाली, कञ्चनपुर, नेपालगञ्जलगायत भारतसँग जोडिएको सीमा जोडिएका जिल्लाका नाका आज रातिदेखि बन्द हुने छन्। शुक्रबार हुने स्थानीय तहको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र भयरहित बनाउनका आज राति १२ बजेदेखि वैशाख ३० गते राति १२ बजेसम्मका लागि सीमा नाका बन्द हुनेछन्।
यसअघि खुला सीमाका कारण निर्वाचनको बेला सुरक्षा चुनौती बढ्न सक्ने भएकाले निर्वाचनअघि ७२ घण्टासम्म सीमा नाका बन्द गर्ने निर्णय भएको थियो । दुई पक्षीय बैठकले निर्वाचनको ४८ घण्टा अघि दुई देशका सीमा क्षेत्रमा मदिराको बेचविखन र सेवनमा रोक लगाउने निर्णय भएको थियो ।
२७ वैशाख २०७९, मंगलवार ११:१० बजे प्रकाशित






























