कारबाहीमा परेकालाई उम्मेदवार बनाइएको भन्दै वडाध्यक्षसहित ५८ जनाले दिए राजीनामा
धनगढी उपमहानगरपालिकाका एक वडाध्यक्षसहित ५८ जनाले नेपाली काँग्रेसबाट सामूहिक राजीनामा दिएका छन् । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि एकलौटी ढंगले टिकट वितरण भएको भन्दै वडा नम्बर ४ का निवर्तमान वडाध्यक्ष दिपक थापासहित ५८ जना नेता कार्यकर्ताले साधारण सदस्यसमेत नरहने गरि पार्टीबाट सामूहिक राजीनामा दिएका हुन् ।
बिहीबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनीहरुले पार्टीबाट राजीनामा दिएका हुन् ।
२०७४ को चुनावमा बागी भई कार्वाहीमा परेको तर हालसम्म कार्वाही फुकुवा नभएको व्यक्तिलाई सिफारिस गरिएको भन्दै आफूसहितका व्यक्तिहरुलै राजीनामा दिएको वडाध्यक्ष थापाले बताए ।
टिकट वितरणका क्रममा वडा कार्यसमितिले आवश्यक नगरी मनोमानी ढंगले उम्मेदवार सिफारिसको काम गरेको उनको आरोप छ । ‘पार्टीमा मेरो भूमिका आवश्यक नदेखिएको हुनसक्ने महशुस गर्दै राजीनामा दिएको उनले बताए ।
नेपाली काँग्रेस वडानम्बर ४ पूर्व काँग्रेस वडा सभापति अनन्तराज जोशीले जीवनभर नेपाली काँग्रेस रहेको भएपनि आजबाट नेपाली काँग्रेस परित्याग गरेको बताएका छन् । ‘वडानम्बर ४ बाट ११ जना अध्यक्ष पदका लागि तथा २२ जना सदस्य पदका लागि उम्मेदवारी दाबी गरिएको थियो,’ उनले भने, ‘कसैसंग पनि छलफल नगरी बडा कार्य समितिले ३ जना अध्यक्ष पदका आकांक्षीको नाम सिफारिस गर्यो ।’ वडाको टिकट दिने प्रक्रियामा भूगोल, क्षेत्र, योगदान मूल्यांकनै नगरी हस्तक्षेप भएको उनको भनाइ छ ।
एकलौटी ढंगले गरेको निर्णयले तथा पार्टीले गर्ने विभेदपूर्ण व्यवहारबाट पीडित पार्टीका ईमान्दार, क्रियाशील एवम् सक्रिय कार्यकर्ताहरुले मनोभावनामा आँच पुगेको उनले बताए । असन्तुष्ट समूहले आसन्न निर्वाचनमा स्वतन्त्र ढंगले मतदान गर्ने जनाएका छन् ।
वडाबाट ९९ जना असन्तुष्टहरुको हस्ताक्षर सहित जिल्ला सभापतिलाई बुझाउने उनीहरुले जनाएका छन् । काँग्रेस वडा नम्बर ४ बाट बुद्धि खड्कालाई उम्मेदवारी दिएको छ । उक्त पार्टीले कारवाही गरेको व्यक्तिको टिकट रोक्न ९९ जना क्रियाशील सदस्यहरुको हस्ताक्षरसहित जिल्ला कार्य समितिको ध्यानाकर्षण गर्दा पनि वेवास्ता गरिएको असन्तुष्ट पक्षहरुको भनाई छ ।
१५ वैशाख २०७९, बिहीवार २१:०८ बजे प्रकाशित































